भदौ ५ ।
पाल्पा। अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले सहकारी संस्थाको नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शेयर सदस्यहरुको लागि सहकारीको नेतृत्व गर्दा ध्यान दिनु पर्ने विषय र कानुनी प्रक्रियाको विषयमा सचेत गराउन विहिबार एक दिने अभिमुखिकरण प्रदान गरेको हो ।
न्यू होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रम अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता र लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । अभिमुखिकरण कार्यक्रमको शुभारम्भ गर्नु हुँदै प्रमु्ख अतिथी श्रेष्ठले सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न लुम्बिनी प्रदेशले संघको कानुन संग नबाझिने गरी ऐन ल्याउने तयारी गरेको बताउनुभयो ।
उहाँले नियतबस सहकारी ठगीमा संलग्नलाई कार्वाही हुनुपर्ने बताउनुभयो । सहकारीमा ठगी गर्ने व्यक्तिहरुलाइ सरकारले कार्वाही गरिरहेको बताउँनुभयो । कुनै दल विशेषको व्यक्तिलाई मात्र नभै ठगीमा संलग्न सबै दलका व्यक्तिहरुलाई कार्वाही गरेको बताउनुभयो । सहकारीमा देखिएका समस्या क्रमश समाधान भैरहेको बताउनुभयो । रामपुर क्षेत्रमा सञ्चालित सहकारीमा समस्या नरहेको बताउनुभयो । उहाँले नेतृत्व गर्ने व्यक्तिले समस्या मात्र नभै समाधानको उपाय पनि खोज्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अन्धकारमुक्ति साकोसका अध्यक्ष देवकोटा शेयर सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का वरिष्ठ अधिकृत भरत न्यौपानेले सहकारी संस्था सञ्चालनका लागि बनेका ऐन, कानुनी व्यवस्थाको बारेमा जानकारी दिनु भएको थियो । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का प्रशिक्षण अधिकृत उमेश कोइरालाले सहकारीका पदाधिकारी, शेयर सदस्यको काम कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण दिनु भएको थियो । साथै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले साईवर अपराध, विद्युतिय कारोबार सम्बन्धी ठगीको विषयमा सचेतना प्रदान गर्नु भएको थियो ।
अन्धकारमुक्ति साकोसका उपाध्यक्ष खगेन्द्र प्रसाद न्योपानेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्यालले गर्नु भएको हो । कार्यक्रममा सहकारीका पदाधिकारी, सल्लाहाकार, उपसमितिका पदाधिकारी, कर्मचारी संगै शेयर सदस्य सहित १५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend