असोज २८ ।
पाल्पा, आयोजक ज्योतिपुञ्ज युवा क्लव, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा भैरब स्पोर्टस् क्लव नवलपरासीलाई २–१ गोल अन्तरले पराजित गर्दै ज्योतिपुञ्जले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको नकआउट फुटबल प्रतियोगितामा ज्योतिपुञ्जले सेमिफाइनल खेलमा कार्तिक २ गते प्रतिस्पर्धा गर्नेछ । खेलको पहिलो हाफको ३७ औ मिनेटमा ज्योतिपुञ्जका सुजल डंगोलले गोल गर्दै १–० को अग्रता दिलाउनु भएको थियो । दोस्रो हाफको ७६ औं मिनेटमा पुनः डंगोलले नै गोल गरी अग्रतालाई दोब्बर बनाउनु भएको थियो । दोस्रो हाफको अतिरिक्त समय अर्र्थात ८१ औं मिनेटमा भैरव स्पोर्टस्का लागि नरेन्द्र चौधरीले गोल गर्दै गोल अन्तर घटाउन सफल हुनु भएको थियो ।
आज भएको खेलको म्यान अफ दी म्याच ज्योतिपुञ्ज युवा क्लवका सुजल डंगोल घोषित हुनु भएको छ । साथै रेडबुल इनर्जेटिक ज्योतिपुञ्जका आशिष गुरुङ बन्नु भएको छ । बुधबार क्वाटर फाइनलको दोस्रो खेल साविक उपाधि विजेता युनाइटेड युथ क्लव गिरुबारी नवलपुर र सम्पूर्ण युथ क्लव तिलोत्तमा रुपन्देही विच हुनेछ । खेल दिउँसो ३ बजे देखि सुरु हुने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । रामपुर नगरपालिका–७ किसानबारीमा जारी प्रतियोगिताको फाइनल खेल आगामी कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १० समूहको सहभागिता रहेको छ ।
ए डिभिजन क्लब हिमालयन शेर्पा सहित प्रतियोगितामा आयोजक ज्योतिपुञ्ज युवा क्लब, अभिषेक चर्च रजहर नवलपुर, न्यू युथ युनियन क्लव तानसेन, सम्पूर्ण युथ क्लव रुपन्देही, भैरव स्पोर्ट क्लव नवलपरासी, सूर्यपुर फुटबल क्लव, चितवन, होराइजन क्लव वालिङ् स्याङ्जा र देवदह ब्वाईज रूपन्देहीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते हुनेछ । विजेता समूहले नगद ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी जित्नेछन् । सेमिफाइनल पराजित टिमले २५/२५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचले जनही ८ हजारसहित प्राप्त गर्नेछ ।
मंगलबारको खेल क्लवका अध्यक्ष सुन्दर रानाको अध्यक्षता र रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend