कात्तिक २ ।
पाल्पा, पूर्वखोला गाउँपालिका–१, सिलुवामा सम्पन्न नवौं मण्डली कपको उपाधि मणिमुकुन्द भलिबल क्लव रुपन्देहीले जितेको छ । मण्डली स्पोर्टस् क्लवको आयोजना र पूर्वखोला गाउँपालिकाको सहआयोजनामा भएको क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा मामा भान्जा युनाईटेड क्वल, रामपुरलाई ३–१ सेट अन्तरले पराजित गर्दै मणिमुकुन्दले उपाधि चुमेको हो ।
शनिबार भएको फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लवले पहिलो, तेस्रो र चौथो सेट २५–१९, २५–१६ र २५–२१ अंक सहितको जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको हो । दोस्रो सेट मामा भान्जा युनाईटेडले २५–१९ अंक सहित जितेको थियो । यस संगै मामाभान्जा युनाईटेडले द्वितीय स्थानमा चित्त बुझाएको छ । गत असोज २९ देखि भएको प्रतियोगितामा निस्दी खेलकुद विकास समिति तृतीय भएको छ ।
तृतीय स्थान छनौट खेलमा होराइजन स्पोर्टस् क्लव बुटवललाई ३–१ सेटले पराजित गरेको थियो । पहिलो सेट होराइजन स्पोट्स क्लवले २५–२३ अंक सहित आफ्नो पक्षमा पारेको थियो । दोस्रो, तेस्रो र चौथो सेट निस्दीले २५–२०, २५–२३ र २५–१७ अंक सहित जितेको हो । प्रतियोगितामा विजेता समूह मध्ये प्रथम, द्वितीय, तृतीय र सानत्वनाले क्रमश : नगद एक लाख ५१ हजार रुपियाँ, एक लाख एक हजार रुपियाँ, ७१ हजार रुपियाँ र ३६ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मणिमुकुन्द भलिबल क्लवका रेशम वि.क. बन्नु भएको छ । त्यस्तै उत्कृष्ट सर्भर मिलन चन्द, उत्कृष्ट डिफेन्डर मामा भान्जा युनाईटेडका राजन दर्लामी, उत्कृष्ट सेटर मणिमुकुन्द भलिबल क्वलका दिपेश कुँवर, उत्कृष्ट स्पाईकर मामाभाज्जा युनाईटेडका सञ्जु विक्रम शाह, उत्कृष्ट ब्लकर मणिमुकुन्द भलिबलका चिरन खड्का बन्न सफल भएको छ । विद्यागत तर्फ उत्कृष्ट खेलाडीले नगद पाँच हजार र अन्य विद्यामा जनही दुई/दुई हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको पुरस्कार वितरण राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम सहित गरिएको थियो । मण्डली स्पोट्र्स क्लबका अध्यक्ष अन्त प्रसाद श्रेष्ठको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग, पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी श्रेष्ठले जिल्लाको पूर्वी क्षेत्रलाई भलिबलको माध्यम बाट चिनाउन मण्डली स्पोर्टस् क्लवले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले भलिबल ग्रामीण क्षेत्रको भुगोल सुहाउँदो खेल भएको बताउँदै पूर्वी क्षेत्रलाई भलिबलको हबको रुपमा विकास गर्न पहल गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन क्लवका सचिव कृष्ण प्रसाद पंगेनीले गर्नु भएको हो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend