शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

ज्योतिपुञ्ज युवा क्लव फाइनलमा प्रवेश, उपाधिका लागि युनाईटेड युथ संग प्रतिस्पर्धा गर्ने



कार्तिक २ ।
पाल्पा, आयोजक ज्योतिपुञ्ज युवा क्लव रामपुर तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश गरेको छ । रामपुर नगरपालिका–७, किसानबारीमा जारी जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको दोस्रोे सेमिफाइनल खेलमा देवदह ब्वाईज, रुपन्देहीलाई ३–२ ले पराजित गर्दै आयोजक फाइनलमा पुग्न सफल भएको हो ।



आइतबार भएको खेलमा १४ औं मिनेटमा सुरज चौधरीले गोल गर्दै देवदह ब्वाईज रुपन्देहीलाई अग्रता दिलाउन सफल भएको थियो । तर देवदहको अग्रतालाई २६ औं मिनेटमा ज्योतिपुञ्जका सुमित श्रेष्ठले गोल फर्काएर बराबरीमा बनाएको थियो । लगतै ३७ औं मिनेटमा पुनः ज्योतिपुञ्जका लागि निरज चौधरीले गोल गरेर अग्रता बढाउन सफल भएका थिए । पहिलो हाफमा २–१ को अन्तरमा खेल सकिएको थियो ।

दोस्रो हाफमा खेलको ४७ औं मिनेटमा पुनः निरज चौधरीले गोल गरेर ज्योतिपुञ्जलाई थप बलियोे स्थानमा पुर्याएका थिए । तर देवदहकै सुरज चौधरीले ५९ औं मिनेटमा पुनः एक गोल थप्दै अग्रता घटाउन सफल भएको थियो । खेलमा विजयी भए संगै आयोजक उपाधिको नजिक पुगेको छ । दुई गोल गर्ने ज्योतिपुञ्ज युवा क्लबका निरज चौधरी प्लेयर अफ दि म्याच बन्दै नगद ३ हजार प्राप्त गर्न सफल हुनु भएको छ । त्यस्तै रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच ज्योतिपुञ्जका सुमित श्रेष्ठ घोषित हुँदै गिफ्‌ट ह्याम्पर प्राप्त गर्नु भएको छ । प्लेयर अफ दि म्याच र रेडबुल इनर्जेटिक प्लेयर भएका खेलाडीलाई अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना र जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले  पुरस्कृत गर्नु भएको थियो ।

यस अघि पहिलो सेमिफाईनलमा साविक उपधि विजेता युनाईटेड युथ क्लव गिरुवारीले शनिबार भएको पहिलो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहर, नवलपुरलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । ४-३ को जित निकाल्दै फाइनलमा पुगेको हो । आयोजक ज्योतिपुञ्जले सोमबार हुने फाइनल खेलमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन युनाइटेड युथ क्लब गिरुबारी नवलपुरसंग प्रतिस्पर्धा गर्नेछ । भोलि समापनको अवसरमा १:३० देखि औपचारिक कार्यक्रम सुरु संगै फाईनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता समूहले नगद ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनल पराजित टिम देवदह ब्वाईज र अभिषेक चर्च रजहरले नगद २५/२५ हजार प्राप्त गरेको छ ।  प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचले जनही ८ हजार प्राप्त गर्नेछ । रामपुर नगरपालिका ७ किसानबारीमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा १० समूहले भाग लिएका थिए ।

आइतबारको खेल ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुन्दर रानाको अध्यक्षता र अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी रानाले रामपुर क्षेत्रलाई खेलकुदको माध्यम बाट चिनाउन क्लवले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले खेलको माध्यम बाट र अन्य विभिन्न माध्यम बाट राष्ट्रलाई चिनाउन सकिने बताउनुभयो ।

ज्योतिपुञ्ज युवा क्लवले तेस्रो संस्करणको प्रतियोगिता ‘फुटबल खेल मैदान निर्माणको अभियान : रामपुरको गौरवमा तपाईको योगदान’ भन्ने नाराको साथ सञ्चालन गरेको हो । तेस्रो संस्करणको प्रतियोगिता खेलमैदान निर्माण सहयोगार्थ सञ्चालन गरिएको क्लवका अध्यक्ष सुन्दर रानाले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend