कार्तिक २१ ।
पाल्पा, रामपुर नगरपालिका–७, किसानबारीमा शुक्रबार देखि अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । रामपुर फुटबल एकेडेमीको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा किसानबारी खेलमैदानमा अन्तर स्कुल फुटबल महोत्सव अन्तर्गत प्रतियोगिता सुरु भएको हो ।
‘अब पालो विद्यार्थीको, खोजी प्रतिभाको’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको एक कार्यक्रमको विच शुभारम्भ गरिएको छ । रामपुर फुटबल एकेडेमीका अध्यक्ष अनिल शाही ठकुरीको अध्यक्षतामा भएको कार्यक्रम अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले खेलकुद राष्ट्रको पहिचानका लागि महत्वपूर्ण विधा भएको बताउनुभयो । तल्लो तह बाटै प्रशिक्षण र अवसर प्रदान गर्न सकेमा खेलकुद क्षेत्रलाई थप उचाईमा पुर्याउन सकिने बताउनुभयो । रामपुर फुटबल एकेडेमीका अध्यक्ष अनिल शाही ठकुरीले बालबालिकाहरुलाई अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभाको खोजीका लागि अन्तर विद्यालय स्तरीय प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई मात्र सहभागी गराइएको छ । प्रतियोगितामा कालीगण्डकी वेशी क्षेत्रका १७ विद्यालयको सहभागीता रहेको खेल संयोजक केशवराज श्रेष्ठले जानकारी दिनुभयो । रामपुर नगरपालिका, पाल्पाका १२ र चापाकोट नगरपालिकाका पाँच माध्यमिक विद्यालयको सहभागीता रहेको श्रेष्ठले बताउनुभयो । आज भएको उट्घाटन खेलमा गंगा माविलाई ३–० गोलले पराजित गर्दै रामपुर अंग्रेजी आवासिय मावि विजयी भएको छ । आगामी कात्तिक २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद ३० हजार र उपविजेताले नगद १० हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र र प्रेरणादायी पुस्तक प्राप्त गर्नेछ । साथै सेफिाइनलिष्टले नगद ८/८ हजार प्राप्त गर्नेछ ।
साथै विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । उट्घाटन कार्यक्रमको अवसरमा रामपुर स्काउट ट्रुपको मार्चपास संगै विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको खुम सारु थापाले गर्नु भएको हो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend