कार्तिक २९ ।
पाल्पा, आधारभूत माध्यमिक विद्यालय रामपुर नगरपालिका–७, पाल्पामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको छ । विद्यालयले पशुपन्छी पालक कृषकलाई शनिबार शिविर सञ्चालन गरी स्थानीय कृषकहरुलाई सेवा प्रदान गरेको हो ।
किसान एग्रोभेट रामपुर ७ किसानबारीको औषधी सहयोगमा विद्यालयले शिविर सञ्चालन गरेको हो । शनिबार विहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालन भएको शिविरको एक समारोहका विच शुभारम्भ गरिएको थियो । आधारभूत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी श्रेष्ठले हाम्रो देश कृषि प्रधान देश भएकाले कृषिको उत्थानका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयले कृषकहरुको लागि लक्ष्यित गरी शिविर सञ्चालन गर्नु गौरवको विषय भएको बताउनुभयो ।
विद्यार्थीलाई ज्ञान र सीप संगै कृषक प्रति थप जिम्मेवार बनाउन शिविर सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले जानकारी दिनुभयो । किसान एग्रोभेटका सञ्चालक सूर्य भट्टराईले कृषकको हितका लागि विद्यालयले सञ्चालन गर्दै आएको कार्यक्रममा साथ दिन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
शिविरमा विद्यालयका पशु चिकित्सकहरु संगै विद्यार्थीले सेवा दिएका थिए । गाई, भैँसी, बाख्रा, कुखरा र घरपालुवा कुकुर लगाएत पशुपन्छीको स्वास्थ्य परीक्षण सहित कृषकलाई परामर्श प्रदान गरी औषधी समेत वितरण गरेको थियो । शिविरमा १५० कृषकको एक हजार बढी पशुपन्छीलाई निःशुल्क औषधी वितरण गरिएको पशु चिकित्सक डा. नीरज श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा पशुको गोबर परीक्षण संगै आन्तरिक पश्चात बाह्य परजीवी नियन्त्रण, जीवाणु नियन्त्रण तथा खुराकजन्य समस्या लगायतका रोगहरुको औषधि वितरण गरिएको थियो ।
साथै पशु बन्ध्याकरण सेवा संगै १० वटा घरपालुवा कुकुरको लागि रेविज विरुद्धको भ्याक्सिन समेत प्रदान गरिएको थियो । समुदायमा रहेका कृषकलाई सेवा प्रदान गर्नुका साथै पशु विज्ञान विषयको महत्व बुझाउन विद्यालयले निरन्तर शिविर सञ्चालन गरिएको प्रधानाध्यापक रुपनाथ गौतमले बताउनुभयो । विद्यालयले कक्षा नौ देखि १२ सम्म पशु विज्ञान विषयको कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयले आवश्यकता अनुसार शिविर सञ्चालनलाई निरन्तरता दिने जनाएको छ । विद्यालयले विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन पशुपन्छी फार्म संगै कृषकको सेवाका लागि भेटेरेनरी क्लिनिक र ल्याव पनि सञ्चालन गर्दै आएको छ ।
विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका पशु विज्ञान संकायका संयोजक एवं पशु चिकित्सक डा. नीरज श्रेष्ठले गर्नु भएको हो ।


© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend