शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रामपुरमा ४ द्वारा शिक्षक तथा विद्यार्थीलाई हस्तलेखन तालिम प्रदान



पुस २ ।
पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ ले शिक्षक तथा विद्यार्थीहरुलाई हस्तलेखन तालिम प्रदान गरेको छ । वडा भित्र रहेका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको हस्तलेखन आकर्षक र प्रभावकारी गराउन वडा कार्यालयले तालिम प्रदान गरेको हो ।



राईजिङ्ग दिप एजुकेशन हव तिलोत्तमा–१, रुपन्देहीको सहजिकरणमा गत मंसिर २४ देखि सुर भएको तालिमको बुधबार एक कार्यक्रम गरी समापन गरिएको हो । रामपुर–४, का वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्‌लेको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी काफ्‌लेले विद्यार्थीहरुको सिकाईमा अक्षरको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । वडाले शिक्षा क्षेत्रको उत्थानका लागि चालेको कदमको प्रशंसा गर्नुहुँदै तालिम प्रतियोगिताहरुका लागि मात्र नभै व्यवहारिक रुपमा प्रयोग गर्न सकियो भने महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

वडा अध्यक्ष राम बहादुर रानाले वडा भित्र सञ्चालनमा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थीको हस्तलेखन सिपको विकासका लागि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । शिक्षण सिकाईमा लेखन सिपको महत्वपूर्ण भुमिका रहने उहाँले बताउनुभयो । कार्यक्रममा कालिका माविमा शिक्षक अभिभावक संघ अध्यक्ष टेक बहादुर क्षेत्रीले सिकेका सीप व्यवहारमा लागु गर्न सके मात्र तालिमले सार्थकता प्राप्त गर्ने बताउनुभयो । मदरसा नुरुलहुदा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष साहदत हुसेन शेखले शैक्षिकसुधारका लागि ल्याईएको कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । सीताराम माविका प्रधानाध्यापक हरि प्रसाद अधिकारीले तालिमले विद्यार्थीको हस्तलेखन सिप विकास संगै शिक्षण सिकाईमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मदरसा नुरुलहुदा माविका प्रधानाध्यापक अबुल कलाम मियाले कलमको महत्वको बारेमा चर्चा गर्दै विद्यार्थीहरुको लेखन सिपमा विकासमा महत्वपूर्ण टेवा दिएको बताउँदै तालिममा सिकेका सिपको निरन्तरताले थप सफलता प्राप्त गर्ने बताउनुभयो । मदरसा नुरुलहुदा माविका विद्यार्थी शेख फैसल र सीताराम माविका विद्यार्थी प्रशंसा वाग्लेले तालिमका लागि वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो । वडा कार्यालयले सीताराम माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, मदरसा नुरुलहुदा माध्यमिक विद्यालय र मदरसा नुरुलहुदा अहले सुन्नत प्राविमा अध्ययनरत कक्षा चार देखि नौ सम्मका विद्यार्थी र कार्यरत शिक्षकहरुलाई तालिम प्रदान गरेको थियो ।

वडा सचिव मोहम्मद युनुस खानको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई वडा सदस्य मोहम्मद अजिम शेखले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य मोहन सिं रानाले गर्नुभएको हो । साथै तालिम समापनको अवसरमा सहभागि विद्यालयका विद्यार्थीहरु विच हस्तलेखन प्रतियोगिता समेत भएको थियो । कक्षा ८ र ९ का विद्यार्थीहरु विच भएको प्रतियोगितामा मदरसा नुरुलहुदा माविका आयात मन्सुर प्रथम, सीताराम माविका प्रशंसा वाग्ले द्वितीय र मदरसा नुरुलहुदा माविका अमिर मिया तृतीय, कक्षा ६ र ७ का विद्यार्थीहरु विच भएको प्रतियोगितामा मदरसा नुरुलहुदा माविका इश्राद जुहा प्रथम, नुरुलहुदा माविका नजुदा खातुन द्वितीय र मदरसा नुरुलहुदा माविका सजुदा अलि तृतीय र कक्षा ४ र ५ का विद्यार्थीहरु विच भएको प्रतियोगितामा मदरसा नुरुलहुदा माविका महेसवा खातुन प्रथम, मदरसा नुरुलहुदा माविका सदिया सदाफ द्वितीय र कालिका माविका गायत्री आले तृतीय हुनु भएको छ ।

विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै शिक्षकहरु मध्येमा सीताराम माविका अजय अधिकारी, कालिका माविका बेनीसरा गाहा, मदरसा नुरलहुदा अहलेसुन्नत प्राविका ज्ञानुमाया सोमै, मदरसा नुरलहुदा माविका नज्मुन निशा र मोहम्मद अलिलाई पुरस्कृत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend