शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रामपुरमा गुणस्तर तथा लेबलिङ्ग सम्बन्धी अभिमुखीकरण



पुस २३ ।
पाल्पा, जिल्लाकाे रामपुरमा उत्पादित वस्तुको गुणस्तर तथा लेबलिङ्ग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका उद्योगी तथा व्यवसायीहरुको आवश्यकतालाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले अभिमुखीकरण प्रदान गरेको हो ।



खाद्य उद्योगका सञ्चालक तथा विक्रेताहरुको लागि सञ्चालन गरिएको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका वरिष्ठ उद्योग अधिकृत केशव सुनारको अध्यक्षता र लुम्बिनी प्रदेश सभा उद्योग तथा पर्यटन समितिको सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी श्रेष्ठले लुम्बिनी प्रदेश सरकारले उद्योग दर्ता, नविकरणलाई सहज बनाउन आवश्यक सहजिकरण गर्दै गर्दै आएको बताउनुभयो । सरकारको अस्थिरताले गर्दा सङ्घ सरकार र प्रदेश सरकारको ऐनहरु केही बाझिने अवस्था सृजना भएको बताउँदै केन्द्र सरकारको औद्योगिक ऐन हेरेर प्रदेश सरकारको औद्योगिक ऐन तत्काल जारी गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

कार्यक्रममा उत्पादित वस्तुको गुणस्तर कायम राख्नका लागि उद्योगीले लेबलिङ संगै विक्रेताहरुले भण्डारणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले सामान खरिद गर्दै गर्दा उपभोक्ताहरु पनि सजग हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले उत्पादन भएका सामग्रीको गुणस्तर कायम गर्दै आफ्‌ना उत्पादनलाई ब्राण्डको रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा व्यवसायीले ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले सरकारको नीति व्यवसायीलाई प्रोत्साहन गर्नेभन्दा पनि निरुत्साहित गर्ने खालको रहेको बताउनुभयो । खाद्य उद्योग सञ्चालन गर्न मुचुल्कादेखि सात–आठ वटा निकायबाट स्वीकृति लिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले खाद्य उद्योगको दर्ता पत्र सुरुवातमा भैरहवाबाट जारी भए पनि नविकरण जिल्ला तहबाटै गर्ने व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले व्यवसायी स्वयं पनि सचेत भई आफ्नै व्यवसायको स्व–अनुगमन गर्नुपर्ने उहाँको भनाइ थियो ।

व्यवसायी प्रेम सिंह ठकुरीले उद्योगको नविकरणका लागि उत्पादन भएको सामानको गुणस्तर जाँचको लागि नमुना भैरहवा नै पुर्‍याउनु पर्ने बाध्यता रहेको बताउनुभयो । व्यवसायी कृतिनाथ श्रेष्ठले उद्योगले उत्पादन गरेको सामान डिलर हुँदै पसल सम्म आउँदा नमुना परीक्षणमा गुणस्तरमा कमी भए उद्योग मात्र नभै खुद्रा विक्रेताले समेत मुद्दा झेल्नु पर्ने अवस्था आएको बताउनुभयो । व्यवसायी खेमराज गौतमले अण्डाको लेभल नहुने भएकाले विक्रेताहरु मर्कामा परेको बताउनुभयो ।

उद्यमी विनोद श्रेष्ठ, हरिनाथ ढुङ्गाना, भगवती घिमिरे अर्याल लगाएतले उद्योग व्यवसाय सञ्चालनको क्रममा देखिएका समस्याको बारेमा आफ्‌नो धारणा राख्नु भएको थियो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाईले उद्योगी व्यवसायीहरको सहजताका लागि नमुना परीक्षणका लागि भैरहवा नै ल्याउनु पर्ने भए पनि नविकरणको अन्य सेवा अनलाईन बाटै प्राप्त गर्न सकिने बताउनुभयो । उद्यमीहरुको जिज्ञासा मेटाउँदै उहाँले कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । गुणस्तर नियमन ऐन, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१, ऐनले लेबल सम्बन्धी व्यवस्था, खाद्य स्वच्छता, खाद्य स्वच्छता कायम गर्ने उपाय लगाएतका विषयमा अभिमुखिकरण प्रदान गर्नु भएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका वरिष्ठ उद्योग अधिकृत केशव सुनारले विना लेबल कुनै पनि वस्तु उत्पादन गरी विक्री वितरण गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ ले ३ देखि ६ महिना सम्म कैद र पचार हजार सम्म जरिवाना गर्ने व्यवस्था गरेको बताउँदै उद्यमीहरुलाई सचेत भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भयो । उहाँले लेबलिङ्ग गर्दा समेट्नु पर्ने विषय, प्याकिङ र लेबल गर्ने तरिका, लेबलिङ्गको महत्व, लेबलिङ्ग सम्बन्धी विद्यमान समस्याको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । न्यू होटल श्रीनगरको सभाहलमा भउको कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend