शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रामपुर आवासीय पाल्पामै पहिलो आईएसओ लोगो प्राप्त गर्ने संस्थागत विद्यालय



पुस २९ ।
पाल्पा, रामपुर आवासीय माध्यमिक विद्यालय रामपुर–५, पाल्पा अन्तराष्ट्रिय मानकीकरण संगठन (आईएसओ) को लोगो प्राप्त गर्ने जिल्ला कै पहिलो संस्थागत विद्यालय बनेको छ । अन्तराष्ट्रिय गुणस्तर मापदण्ड अन्तर्गतका २५ प्रतिशत सूचक पुरा गर्दै अन्तराष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) को लोगो प्राप्त गर्ने पहिलो संस्थागत विद्यालय बनेको हो ।



विद्यालयलाई ग्लोबल क्वालिटी काउन्सिल नेपालले मंगलबार विद्यालयलाई आईएसओ लोगो प्रदान गरेको हो । ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद श्रेष्ठ र प्रधानाध्यापक सूर्य प्रसाद घिमिरेलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रदान गर्नु भएको थियो । ग्लोबल क्वालिटी काउन्सिल नेपालले यस अघि दमकडा मावि तानसेन, गंगा माध्यमिक विद्यालय रामपुर र रामतुलसी मावि रामपुरलाई लोगो हस्तान्तरण गरिसकेको छ ।

रामपुर आवासीयमा भएको लोगो हस्तान्तरण कार्यक्रमको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले व्यवहारिक तथा प्राविधिक शिक्षाको अभावमा शिक्षा हासिल गरेर पनि बेरोजगार भई बस्नु पर्ने अवस्था सृजना भएको बताउँदै विद्यालयको शिक्षा पद्धती रुपान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो । तत्कालीन समयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भाडाका कोठा तथा टहरा बाट स्थापना भएको विद्यालय आज अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा गर्न तर्फ उन्मुख हुनु खुशीको कुरा भएको बताउनुभयो ।

आईएसओको मापदण्ड पुरा गर्नका लागि सञ्चालन गरिएको कार्यले विद्यालयको व्यवस्थापन संगै शैक्षिक सुधारमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संस्कार र संस्कृति युक्त शिक्षा आजको आवश्यकता रहेको बताउँदै आईएसओको मापदण्डले शिक्षणमा सुधार संगै स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो । उहाँले तत्कालीन समयमा अंग्रेजी शिक्षा प्रदानका लागि स्थापना भएको विद्यालयलाई वर्तमान अवस्था ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरु प्रति आभार व्यक्त गर्नुभयो ।

रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले कार्यक्रमले नगर भित्रका विद्यालयलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माणमा टेवा पुग्ने बताउनुभयो । उहाँले विद्यालयले निजी क्षेत्र बाट पनि उत्कृष्ट नतिजा प्रदान गर्दै नगरको गौरवलाई बढाएको बताउनुभयो । रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्‌लेले रामपुरको नगर बस्ती विकास संगै शैक्षिक हबको रुपमा विकास भैरहेको अवस्थामा कार्यक्रमले विद्यालयको भौतिक संगै शैक्षिक सुधारमा थप सहजता प्रदान गर्ने बताउनुभयो ।

दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गरेकोमा बधाई ज्ञापन गर्नुभयो । समयको आवश्यकतालाई मध्यनजर गर्दै स्थापना भएको विद्यालयले सबै सरोकारवालाहरुको साथ र समन्वय भएमा सफलता प्राप्त गर्न सकिने कुरा प्रमाणित गरेको बताउनुभयो । विद्यालयहरुले सञ्चालन गर्ने गतिविधि ढंग बाट सञ्चालन गर्न प्रेरित गरेको बताउनुभयो । कार्यक्रममा प्याब्सन रामपुरका फोकल पर्सन गोविन्द प्रसाद पौडेलले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले शैक्षिक गुणस्तर सुधारका लागि आईएसओ कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।

ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदिप शर्माले सरकारले निर्दिष्ट गरेका पाठ्यक्रमलाई थप परिस्कृत गरी विद्यालय शिक्षालाई प्रभावकारी बनाई अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्न यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मीले गुणस्तर प्रमाणितका लागि विद्यालयका शिक्षक, विद्यार्थी संगै अभिभावको थप सक्रिय भुमिका आवश्यक रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरेले विद्यार्थीहरुको सिकाई सुनिश्चित गर्न कार्यक्रम अघि बढाएको बताउनुभयो ।

प्रधानाध्यापक सूर्य प्रसाद घिमिरेले ४९ वटा विभिन्न मापदण्ड मध्ये २५ प्रतिशत सूचक हासिल भैसकेको र थप सूचक पुरा गर्नका लागि सबैको साथको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरस्तरीय बाल सञ्जालका अध्यक्ष सारदा प्रसाद श्रेष्ठ, विद्यार्थी रिदम भण्डारी र सृष्टि सुनारले विद्यालयलाई उत्कृष्टताको केन्द्रको रुपमा स्थापित गर्न सबै प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा भएको लोगो हस्तान्तरण कार्यक्रम लुम्बिनी प्रदेश अर्थ उद्योग तथा पर्यटन समितिका सभापति एवं सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरेको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक खुम सारुले गर्नु भएको थियो ।

साथै कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि २०४८ सालमा स्थापना भएको विद्यालयमा ६० जना शिक्षक कर्मचारी कार्यरत रहेको छन् भने मन्टेश्वरी देखि कक्षा १२ सम्म एक हजार १३९ जना विद्यार्थी अध्ययनरत रहेको छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend