पाल्पा, रामपुर नगरपालिकाका विद्यालयहरुमा आज देखि कक्षा ११ को परीक्षा सुरु भएको छ । कोरोना त्रासको कारण रोकिएको २०७६ सालको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको सञ्चालन कार्यविधी अनुसार स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरेको हो ।
परीक्षा बोर्डले विद्यालयहरुलाई ढंगले परीक्षा सञ्चालन गर्न सकिने भने पनि नगरपालिकाले भने नगर भित्रका विद्यालयहरुमा एक रुपता ल्याउने उद्देश्यका साथ एकै पटक परीक्षा सञ्चालन गरेको हो । नगर भित्रका १२ वटै माध्यमिक विद्यालयहरुले एउटै प्रश्न पत्र तयार गरेर एउटै समयमा आ–आफ्नै विद्यालय बाट परीक्षा लिन सुरु गरेका छन् ।
पाठ्यक्रम अनुसार नै प्रश्न पत्र तयार गरी परीक्षा लिएको हो । कोरोना संक्रमणको दर बढिरहेको र जोखिम पनि उत्तिकै रहे पनि परीक्षा दिन पुगेका विधार्थीलाई मास्क, सेनिटाइजर अनिर्वाय गरी शरीरको तापक्रम जाँच गरेर परीक्षा दिन लगाइएको हो । परीक्षा हलमा जानुअघि अनिवार्य स्वास्थ्य चेकजाँचका साथै मास्कको प्रयोग गर्न लगाइएको रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिनुभयो । उहाँले एउटा कोठा भित्र बढीमा २५ जना सम्म विद्यार्थी राखिएको बताउनुभयो । साथै लम्सालले प्राथमिक उपचारको पनि व्यवस्था गरिएको बताउनुभयो ।
रामपुर ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल अनन्त भण्डारीले पनि विधार्थी र शिक्षक सबैको स्वास्थ्य जाँच र सुरक्षा सामग्री प्रयोगपछि मात्रै परीक्षा सुरु गरिएको बताउनुभयो । रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले नगर भित्र एकरुपता ल्याउन तथा परीक्षालाई थप मर्यादित बनाउन छलफल गरेर एकरुपता ल्याईएको बताउनुभयो । नगर भित्रका १२ वटा विद्यालय बाट नियमित र आंशिक गरी ७ सय ७० जना भन्दा बढी परीक्षामा सहभागी हुने बताउनुभयो । साथै काफ्लेले उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको संयोजकत्वमा परीक्षाको अनुगम पनि भैरहेको बताउनुभयो । यता पाल्पाको निस्दी गाउँपालिकामा पनि १९ गते बाट परीक्षा सञ्चालन भैरहेको छ ।