शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

‘मेरो विद्यालय, मेरो दायित्व’ कार्यक्रम रामपुरमा सम्पन्न



असार २७ ।
पाल्पा, सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि लुम्बिनी प्रदेशले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । सामुदायिक विद्यालयमा जनप्रतिनिधि, नागरिक समूह, समुदाय, पूर्व विद्यार्थी, पूर्व शिक्षकहरुलाई विद्यालयको विकाससंग कसरी जोड्न सकिन्छ भन्ने विषयमा सुझाव संकलनका लागि सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले कार्यक्रम अन्तर्गत  छलफल तथा अन्तरक्रिया गरेको हो ।



जिल्लाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा छलफल तथा अन्तरक्रिया गरेको हो । रामतुलसी नमुना माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रम सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख लक्ष्मण घिमिरेको अध्यक्षता र प्रतिनिधि सभा सदस्य सन्दीप रानाको प्रमुख अतिथ्यतामा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी रानाले वर्तमान समयमा समाजमा देखिएका विभिन्न समस्याको जिम्मेवार शिक्षा प्रणालीसमेत रहेको बताउँदै हामीले जस्तो शिक्षा दिने हो भविष्यमा त्यही अनुसारको प्रतिफल प्राप्त हुने बताउनुभयो । उहाँले समाज निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै गुरुको सम्मान उच्च हुने राष्ट्र नै विकसित र समुन्नत बन्न सक्ने धारणा राख्नुभयो । उहाँले उच्च शिक्षा हासिल गरे पनि मानिसले आफूलाई चिन्न नसक्दा विभिन्न समस्या उत्पन्न भइरहेको बताउँदै समाजमा “हामी“ भन्दा “म“ हाबी हुँदै जाँदा आक्रोश, वितृष्णा र ईर्ष्या बढ्दै गएको बताउनुभयो ।

आधुनिकताको नाममा विदेशी शिक्षा पद्धति अपनाउँदा नेपाली प्रकृति र संस्कृतिसँग मेल खान नसकेको उहाँको भनाइ थियो। रानाले पुस्तक र पाठ्यक्रमको ज्ञानले मात्र शिक्षित बनाउन सक्ने भए पनि ज्ञानी बनाउन नसक्ने बताउँदै व्यवहारिक ज्ञान, श्रम र संस्कृतिसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनुभयो । विद्यालय सुधारमा सरकारसँगै समुदायको पनि उत्तिकै जिम्मेवारी रहने र शिक्षामा पर्याप्त लगानी हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेश सभा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले सरकार परिवर्तनसँगै शिक्षा नीति परिवर्तन भइरहँदा शिक्षा क्षेत्रले अपेक्षित गति लिन नसकेको बताउनुभयो। प्रदेश सरकारले सामुदायिक विद्यालयको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र अधिकांश माग पूर्वाधारसँग सम्बन्धित भएकाले सोही अनुसार बजेट विनियोजन भइरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा वक्ताहरूले शिक्षामा व्यवहारिक ज्ञान, आचरण निर्माण र सामुदायिक सहभागिताको आवश्यकता औँल्याएका थिए । कार्यक्रममा दमकडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्यालले  विद्यालयका भवनहरू आकर्षक बने पनि सरसफाइ र व्यवस्थापनमा अझै सुधार आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले सामुदायिक विद्यालयको निर्माण र विकासमा समुदाय र शिक्षकहरूको मुख्य योगदान रहेको बताउँदै विद्यालयबाट उच्च तहमा पुगेका व्यक्तिहरूलाई विद्यालयमा ल्याएर अनुभव आदानप्रदान गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । विद्यालयहरूले मुठीदानमार्फत अक्षय कोष निर्माण गर्ने जस्ता सकारात्मक कार्य गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक जीवन आचार्यले पाल्पाको शैक्षिक इतिहास, वर्तमान अवस्था, बसाइसराई र जनसंख्या ऋणत्मक वृद्धिले पारेको प्रभाव,  विद्यालयको संरचना, शिक्षक दरबन्दीको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । उहााले विद्यालय सुधारका लागि आवश्यक पहल र गर्न सकिने क्रियाकलापका बारेमा आफ्‌नो धारणा राख्नु भएको थियो । उहाँले शिक्षकहरु समय सापेक्ष सूचना तथा प्रविधि तर्फ पनि अग्रसर हुनु आवश्यक रहेको बताउनुभयो ।

बालकृष्ण लम्सालले संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरे पनि सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि तीनै तहका विच समन्वय आवश्यक रहेको बताउनुभयो ।  दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले प्राप्त स्रोत र साधनको सदुपयोग गर्दै सरोकारवाला सबैले आआफ्‌नो कर्तव्य निर्वाह गर्न सकेमा शिक्षामा सुधार हुने बताउनुभयो । बालहित माविका शिक्षक विष्णु थापाले संघिय संरचना पश्चात विद्यालय अनुगमन शून्य प्राय रहेको बताउनुभयो ।

कार्यक्रममा सीताराम माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, गंगा माध्यमिक विद्यालयका अध्यक्ष हरि ज्ञवाली, आधारभूत माविका अध्यक्ष सुरेश आचार्य, राधा कृष्ण माविका प्रधानाध्यापक भेष बहादुर अधिकारी, बालहित माविका अध्यक्ष पुनाराम सारु, अंशुवर्मा माविका शिक्षक खेम बहादुर वि.क. लगाएतले सुझाव सहितका आफ्ना भनाई राखेका थिए ।

आफू पढेको विद्यालयप्रति जिम्मेवार बनाउन सकिएमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार, आर्थिक अवस्थामा सुधार, पूर्वाधारमा सुधार गर्न सकिने अभिप्रायले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । प्राप्त सुझावको आधारमा आगामी कार्यक्रम तय गरिने बताउनुभयो । कार्यक्रमको सञ्चालन कार्यालयका सूचना अधिकारी ऋषिराम पाण्डेले गर्नु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend