बिहिबार, भाद्र ११ २०८३

बिहिबार, भाद्र ११ २०८३

रामपुरमा आन्तरिक राजश्व सुदृढीकरणसम्बन्धी अनुशिक्षण कार्यशाला



भदौ ९ ।
पाल्पा, आन्तरिक राजश्व सुदृढीकरण सम्बन्धी अनुशिक्षण कार्यशाला रामपुर नगरपालिकामा मंगलवार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आन्तरिक आय वृद्धिका लागि ऐन कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी छलफल गरेको हो ।



कार्यशालामा नीतिगत व्यवस्था, कानुनी प्रबन्ध र कार्यक्रम तथा बजेट, राजश्व प्रशासन सुदृढीकरण तथा कार्यान्वयन, डिजिटल राजश्व व्यवस्थापन प्रणाली र आगामी योजना बारे छलफल भएको थियो ।  कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाको आन्तरिक आय वृद्धिका लागि संविधानमा व्यवस्था भए अनुसार स्थानीय सरकार सञ्चालन ऐनको परिधि भित्र रहेर कर संकलन गर्दै आएको बताउनुभयो । उहाँले करको दर भन्दा पनि दायरा बढाएर नगरपालिका राजश्व संकलनमा लागेको उल्लेख गर्नुभयो ।

नगर प्रमुख थापाले विकास निर्माणका योजना तथा कार्यक्रमका लागि आन्तरिक स्रोत महत्वपूर्ण हुने भन्दै नगरको आन्तरिक स्रोत वृद्धिका लागि नागरबासीमा कर चेतना अभिवृद्धि गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कर सहज तरिकाले तिर्न सक्ने वातावरण निर्माणका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरको विकासका लागि राजश्व मेरुदण्ड भएको भन्दै नगरपालिकाको आन्तरिक आय वृद्धि गर्नका लागि जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला सबै लाग्नु पर्नेमा जोड दिनुभयो । साथै कर सरकारलाई तिर्नु पर्ने दायित्व मात्र नभई यो विकास संग जोडिएको विषय भएको भन्दै अनिवार्य रुपमा सबैले तोकिएको कर तिर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले राज्यलाई नागरिकले बुझाउने करले नै समग्र देशको विकास हुन्छ भन्ने विषय नागरिकले बुझ्न र बुझाउन आवश्यक रहेको बताउनु भएको छ । साथै उहाँले नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा संकलन गरेको राजश्व, राजश्व संकलनको दायरा , संकलनका लागि गरेका प्रयास लगाएतका विषयमा जानकारी गराउनु भएको थियो ।

अनुशिक्षण कार्यक्रमको सहजिकरण गर्दै स्कोलर नेपालका सहजकर्ता मणिराम महतले राजश्वमा सुधार नगरी अन्य विकास निर्माण असम्भव भएको भन्दै यसको सुदृढीकरण आवश्यक रहेको बताउनुभयो । यसका लागि कर शिक्षा संगै कर सम्बन्धी चेतना जगाउनु पर्ने भन्दै राजश्व सुदृढीकरणका लागि  ऐन कानुन निर्माणमा नचुक्न आग्रह गर्नुभयो । अनुशिक्षण कार्यक्रमका लागि देशभरबाट २५ वटा पालिका छनौट भएका मध्ये लुम्बिनी प्रदेशबाट ५ वटा पालिका परेको र सोही पालिका मध्ये पनि रामपुर नगरपालिका छनौटमा परेको जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाको आयोजना , प्रदेश तथा स्थानीय शासन सबलिकरण कार्यक्रमको प्राविधिक सहयोग र स्कोलर नेपालको सहजिकरणमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख कर्मचारी, वडा सचिवहरुको सहभागिता रहेको थियो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता, उपप्रमुख बाल कुमारी थापाको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend