मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३

रामपुर उद्योग वाणिज्य संघको रणनीतिक कार्ययोजना गोष्ठी सुरु



भदौ ६ ।
पोखरा, रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पाको तीन वर्षीय रणनीतिक कार्ययोजना गोष्ठी सुरु भएको छ ।  ‘समृद्ध रामपुर, स्वावलम्बी व्यवसायी’ भन्ने मुल नारा सहित संघको आगामी योजना निर्माणका लागि पोखरामा गोष्ठी सुरु भएको हो ।



रामपुर उद्योग वाणिज्य संघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको समन्वय तथा रामपुर नगरपालिका कार्यालयको सहयोगमा सञ्चालन भएको गोष्ठीको शनिबार शुभारम्भ गरिएको थियो । संघका अध्यक्ष खिम बहादुर क्षेत्री (पुरुषोत्तम) को अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । गोष्ठीको शुभारम्भ गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले व्यवसाय सञ्चालन गर्दा उद्देश्य र लक्ष्य निर्धारण गरेर अघि बढेमा मात्र सफलता प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।
हरेक कामका लागि स्पष्ट भिजन, मिसन र गोल आवश्यक रहेको बताउनुभयो । तीनदिने गोष्ठीबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले शिक्षा र सिकाइलाई व्यवहारसँग जोड्नुपर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्रमा उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले उद्योगी तथा व्यवसायी मर्यादित र अनुशासित हुनुपर्नेमा जोड दिनुभयो । तीनवर्षे रणनीतिक योजना बनाउनु सकारात्मक भए पनि संघले दीर्घकालीन रूपमा २० देखि २५ वर्षसम्मको योजना बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । नगरपालिकाले २५ वर्षे योजना निर्माण गरेको जानकारी दिँदै उहाँले संघलाई भवन निर्माण तथा मेला–महोत्सव सञ्चालनलगायतका काममा नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि साथ रहने बताउनुभयो ।

चालु आर्थिक वर्षमा समेत उक्त कार्यक्रमलाई निरन्तरता दिइएको भन्दै उहाँले कृषि व्यवसायीलाई अगाडी बढाउन उद्योग वाणिज्य संघसँग सहकार्य गर्न सकिने बताउनुभयो । उद्योग वाणिज्य संघसँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा सात लाख रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले गोष्ठीमा प्राप्त ज्ञान र सिकाइलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघ र नगरपालिकाबीच विभिन्न क्षेत्रमा सहकार्य र समन्वय हुँदै आएको उहाँले बताउनुभयो । महिलालाई उद्यमी बनाउन नगरपालिकाले विभिन्न तालिम सञ्चालन गर्दै आएको र तालिमबाट उत्पादित सामग्री नगरपालिकाले खरिद गरी ‘उपप्रमुख कोसेली घर’मार्फत बिक्री–वितरण गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघले विगतमा संस्थागत विकासका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभयो । संघ दर्ता, आफ्नै भवन निर्माण तथा नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्राप्त गर्न सफल भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा संघसामु थप अवसर र चुनौती रहेको बताउनुभयो । संघको भवन निर्माण भएको जग्गाको लालपुर्जा प्राप्तिका लागि वडा कार्यालय, नगरपालिका कार्यपालिका, मालपोत तथा नापी कार्यालयबाट आवश्यक निर्णय गराई फाइल दुई पटक प्रमुख जिल्ला अधिकारीको कार्यालयसम्म पुगेको उहाँले जानकारी दिनुभयो । ढकालले रामपुरमा कृषि हाटबजार सञ्चालन गर्नुपर्ने र स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज तथा तरकारी संकलन गरी कृषि र पर्यटनलाई जोड्नुपर्नेमा जोड दिनुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर क्षेत्री ‘पुरुषोत्तम’ले विभिन्न विधाका व्यवसायीसँग छलफल गरेर समस्या र आवश्यकताका आधारमा गोष्ठीको विषयवस्तु तय गरिएको बताउनुभयो । व्यवसायीका समस्या तथा चुनौतीलाई प्रशिक्षकसमक्ष राखेर रणनीतिक योजनामा समेट्ने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि उत्तम झाले प्रशिक्षण दिनुभएको छ । उहाँले उद्योग वाणिज्य संघको परिचय, संघले गर्न सक्ने काम, कर्तव्य र जिम्मेवारी, सामाजिक उत्तरदायित्व, साझेदारी संस्था, संघ विकासका चरण, गोपनीयता, सामाजिक प्रविधि, सेवा प्रभावकारिता तथा सुशासनलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने गोष्ठीले रामपुर क्षेत्रका उद्योगी तथा व्यवसायीका समस्या, सम्भावना र आवश्यकताका आधारमा आगामी तीन वर्षमा संघले सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिको रणनीतिक योजना तय गर्ने जनाइएको छ । संघका वरिष्ठ उपाध्यक्ष विष्णु बहादुर सारुको स्वागत बाट सुर भएको कार्यक्रमको सञ्चालन महासचिव कृतिनाथ श्रेष्ठले गर्नु भएको थियो । गोष्ठी आइतबार सम्म सञ्चालन हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend