भदौ २ ।
पाल्पा, रामपुर नगरपालिका ५ नं. वडा कार्यालयले गत वर्ष सार्वजनिक जग्गामा लगाएको फलफूलका विरुवा गोडमेल संगै थप विरुवा वृक्षारोपण गरेको छ । मंगलबार वडा नं. ५ सेनटारीमा गत वर्ष लगाएको आँप, कटहर लगाएतका विरुवाको गोडमेल सहित नयाँ विरुवा लगाएको हो ।
वडाले विगतका वर्षमा लगाएको आँप र कटहरको गोडमेल गरेको हो । खाली रहेको सार्वजनिक जग्गा करिब ५० रोपनी क्षेत्रफलमा कटहर र आँप जातका फलफुल लगाएको छ । उपयोगविहिन खाली सार्वजनिक जग्गाको सदुपयोग संगै फलफुलको बगैचाको रुपमा विकास गर्नका लागि विरुवा रोपण सहित गोडमेल र मलजल गरिएको वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताउनुभयो । सार्वजनिक जग्गाको संरक्षण गरी वडाले गत वर्ष २ सय बढी कटहर र आँपको विरुवा लगाएको उहाँले जानकारी दिनुभयो ।
पर्यावरण जोगाउन र खाली जमिनको सदुपयोगका लागि वृक्षारोपणले महत्पूर्ण भूमिका खेलेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । उहाँले रोपिएका विरुवाहरूको उचित संरक्षण र रेखदेख गरेर फल उत्पादन लिन सके मात्र यो कार्यक्रम पूर्ण रूपमा सफल हुने भएकाले स्थानीयवासीलाई संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । वडा कार्यालयले स्थानीयबासीको सहयोगमा यस वर्ष ५० वटा आँप र कटहरको विरुवा लगाएको छ । वडाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्थानीयबासीहरुको सक्रियतामा वृक्षा रोपण तथा गोडमेल गरिएको हो ।




© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend