साउन २५ ।
पाल्पा, रामपुर जेष्ठ नागरिक स्कुल रामघाट धाममा श्रावण महात्म्य शिव पुराण कथा वाचन २०८३ सुुरु भएको छ । रामपुर जेष्ठ नागरिक स्कुलको आयोजना र जेष्ठ नागरिक मञ्च रामपुरको समन्वयमा कथा वाचन कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको सोमबार एक समारोहका विच समुद्घाटन गरिएको छ । श्रावण माहात्य शिव पुराण कथा वाचनको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख थापाले जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि विभिन्न समयमा हुने कार्यक्रमले सघाउ पुग्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरुलाई खुशी बनाउनका लागि स्कुल सञ्चालन गरिएको भन्दै यसको थप व्यवस्थापन र निरन्तरताका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले रामपुर नगरपालिकाले सञ्चालन गरेको जेष्ठ नागरिक स्कुल रमपुरको पहिचानको रुपमा स्थापित हुँदै गएको बताउनुभयो । थापाले जेष्ठ नागरिक स्कुल रामपुर र रामपुरबासी सबैको ऐतिहासिक र गौरवको स्कुल भएको उल्लेख गर्नुभयो । उहाँले स्कुलको दिगोपना र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सबैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले स्कुल सञ्चालनका लागि जेष्ठ नागरिकहरुको सहभागिताले राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले स्कुलले जीवनको शिक्षा प्रदान गर्ने भन्दै नयाँ पुस्तामा ज्ञान सिप र अनुभव हस्तान्तरण गर्ने बताउनुभयो । यस्तै जेष्ठ नागरिक संघ रामपुरका अध्यक्ष कृष्ण प्रसाद अर्यालले जेष्ठ नागरिकहरुको सहज जीवनका लागि रामपुर नगरपालिकाले सञ्चालन गरेको जेष्ठ नागरिक स्कुल देशकै नमुना र उदहारणीय रहेको बताउनुभयो ।
कार्यक्रममा स्कुलका पण्डित तथा कथा वाचक अधेयतानन्द गिरीले कार्यक्रमको उद्देश्य बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक संघ रामपुर ५ का अध्यक्ष केशर बहादुर खाँण र जेष्ठ नागरिक कृतिनाथ रेग्मीले बोल्दै शुभकामना दिनु भएको थियो ।
जेष्ठ नागरिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष मिनराज रेग्मीको स्वागत र जेष्ठ नागरिक मञ्च रामपुरका सचिव तिर्थ प्रसाद ढुंगानाको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रमका अवसरमा जेष्ठ नागरिक संघ रामपुरले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई सम्मान समेत गरिएको थियो । कथा वाचन कार्यक्रम आगामी श्रावण ३१ गते सम्म सञ्चालन हुने छ ।


© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend