बुधबार, भाद्र ३ २०८३

बुधबार, भाद्र ३ २०८३

रामपुरमा पनि मनाइयो ३२ औं विश्व आदिवासी दिवस



साउन २४ ।
पाल्पा, ‘आदिवासी सुडेनीहरूको सम्मानः जीवन र कल्याणको संरक्षण’ भन्ने नाराका साथ ३२ औं विश्व आदिवासी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । पाल्पाको रामपुरमा पनि आइतबार दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ ।



नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद् रामपुरको आयोजना तथा रामपुर नगरपालिकाको आर्थिक सहयोगमा प्रशिक्षणसहितको कार्यक्रम सम्पन्न भएको हो । नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद् रामपुर, पाल्पाका अध्यक्ष बोमबहादुर नाम्जालीको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै अधिकार प्राप्तिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तनले आदिवासी जनजातिको पेशा व्यवसाय संकटमा परेको बताउँदै जल, जमिन र जंगल माथिको अधिकार सुनिश्चितता संगै पेशा र संस्कृति संरक्षण नगरपालिकाले आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । आदिवासी जनजाति समुदायले इतिहासको कालखण्ड देखि हाल सम्मका हरेक परिवर्तनमा महत्वपूर्ण टेवा दिएको स्मरण गराउनुभयो । रामपुर नगरपालिका–४ का वडा अध्यक्ष रामबहादुर रानाले आदिवासी जनजाति समुदायको अधिकार, पहिचान र संस्कृतिको संरक्षणका लागि आवश्यक समन्वय गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले आदिवासी जनजाति समुदाय आफ्नै मौलिक भाषा, संस्कृति र पहिचान बोकेको समुदाय भएको बताउँदै आधुनिकतासँगै परम्परागत संस्कार र संस्कृतिलाई पनि अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाका सदस्य विनोद श्रेष्ठले आदिवासी जनजातिका अधिकार र पहिचान संरक्षणका लागि निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाका पूर्व सदस्य क्याप्टेन धनबहादुर रानाले आदिवासी जनजाति समुदायको सामाजिक, सांस्कृतिक तथा राजनीतिक अधिकारका विषयमा धारणा राख्नुभयो । नेपाल आदिवासी जनजाति महासंघ रामपुर नगर इन्चार्ज थर्कबहादुर रानाले आदिवासी जनजाति समुदायका सवाललाई स्थानीय तहदेखि राष्ट्रिय तहसम्म प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेवाः देय दवु रामपुर नगर समितिका वरिष्ठ उपाध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद् रामपुरका सल्लाहकार क्याप्टेन देवबहादुर थापा मश्राङ्गी, नेपाल आदिवासी जनजाति महासंघ रामपुर–८ का अध्यक्ष चन्द्रबहादुर नाम्जाली र साविक गजरकोट नेवाः समाजका अध्यक्ष ऋषिराम श्रेष्ठले समेत आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल मगर संघका निवर्तमान सहसचिव दलबहादुर विरकट्टाले आदिवासी जनजाति आन्दोलनका उपलब्धि, संविधानले गरेको व्यवस्था तथा त्यसको कार्यान्वयनको अवस्थाका विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले संयुक्त राष्ट्रसंघका सम्बन्धित महासन्धिका विषयमा समेत सहभागीलाई जानकारी गराउनुभएको थियो ।

रामपुर नगरपालिका–५ स्थित रेशम सभाहलमा भएको कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद् रामपुरका वरिष्ठ उपाध्यक्ष पदम कुमालको स्वागतबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव विन्दु श्रेष्ठले गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनी यो दिवस मनाउँदै आएका छन् । कार्यक्रममा रामपुर नगरपालिका भित्रका विभिन्न समुदायको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend