शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३

पाल्पाली समाज पोखराद्वारा रामपुर उद्योग वाणिज्य संघको टोलीलाई स्वागत



भदौ ५ ।
पोखरा, पाल्पाली समाज पाेखराले रामपुर उद्योग वाणिज्य संघको टोलीलाई स्वागत गरेको छ । संघको तीन वर्षे रणनीतिक निर्माणका लागि पोखरामा हुन गैरहेको कार्यशाला गोष्ठीका लागि पुग्नु भएका जनप्रतिनिधि, संघका पदाधिकारी तथा सरोकारवालाहरुलाई स्वागत गरेको हो ।



पाल्पाली समाज पाेखराको सभाहल न्यू रोडमा भएको कार्यक्रम पाल्पाली समाज पाेखराका अध्यक्ष श्रीधर खनालको अध्यक्षता र लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । श्रेष्ठले पाल्पा बाट पाेखरा आएर पाल्पालीहरुले ‘हामी पाल्पाली हौँ’ भन्ने छुट्टै पहिचान बनाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पाल्पाली बीचको सम्बन्धलाई थप मजबुत बनाउँदै पाल्पाको पहिचानका लागि आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले
पाल्पाको चिनारी र पहिचानका लागि पोखरामा रहेर पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउँदै रामपुर नगरपालिका सधैँ साथ, सहयोग र सहकार्यका लागि तयार रहेको उल्लेख गर्नुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर क्षेत्री ‘पुरुषोत्तम’ले पाल्पाबाट पोखरा आएर विभिन्न पेशा तथा व्यवसायमा संलग्न हुँदै संगठित रूपमा अघि बढिरहेको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले न्यानो आतिथ्यता र स्वागतका लागि धन्यवाद दिँदै व्यवसायीहरूबीच आपसी सहकार्य र समन्वय गर्दै संघ अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा पाल्पाली समाज पोखराका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले समाजले पाल्पाको पहिचानको लागि चालेको कदमको बारेमा जानकारी गराउनु भएको थियो । समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार कुलप्रसाद घिमिरेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन समाजका सचिव पदम पोखरेलले गर्नुभएको थियो ।

यसैबीच रामपुर उद्योग वाणिज्य संघको टोलीले लेखनाथ उद्योग वाणिज्य संघ पोखरासँग पनि भेटघाट तथा अन्तरक्रिया गरेको छ । भेटघाटका क्रममा दुई संस्थाबीच उद्योग, व्यापार, पर्यटन तथा व्यवसाय प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले संघको टोलीलाई रैथाने धान पोखरेली जेठो बुढो धानको चामल प्रदान गरी स्वागत गर्नु भएको थियो ।
रामपुर उद्योग वाणिज्य संघको तीन वर्षे रणनीतिक योजना निर्माणका लागि पोखरामा कार्यशाला गोष्ठीसमेत आयोजना हुँदैछ । कार्यक्रममा जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend