शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

बाढीपीडितका लागि पाल्पामा एकद्वार प्रणालीबाट राहत संकलन गरिने



भदौ १३ ।
पाल्पा, भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि पाल्पामा एकद्वार प्रणालीबाट जिन्सी राहत सामग्री संकलन गरिने भएको छ । विभिन्न सामाजिक संघ, संस्था, राजनीतिक दल तथा सरोकारवालाको संयुक्त पहलमा राहत सामग्री संकलन गरिने भएको हो ।



जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बाढीपीडितका लागि राहत सामग्री संकलन तथा पठाउने कार्यलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन एकद्वार प्रणाली अपनाउने निर्णय गरेको हो । निर्णयअनुसार भदौ १४ गतेदेखि तानसेनस्थित पाल्पा दरबार परिसरबाट राहत सामग्री संकलन सुरु गरिनेछ । त्यसैगरी तानसेनसहित जिल्लाका विभिन्न बजार तथा मुख्य चोकमा पुगेर पनि जिन्सी सामग्री संकलन गरिने जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जानकारी दिनुभयो ।

संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रतिनिधिको रोहबरमा प्रभावित क्षेत्रमा पठाइनेछ । यसले राहत संकलन र वितरणमा दोहोरोपन हुन नदिनुका साथै वास्तविक पीडितसम्म राहत सामग्री पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।अभियानअन्तर्गत जिन्सी राहत सामग्री मात्र संकलन गरिने भएको छ । नगद सहयोग गर्न चाहने व्यक्तिहरूलाई भने सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा रकम जम्मा गर्न सहजीकरण गरिने जनाइएको छ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईसहित जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका प्रतिनिधिको संयुक्त बैठकले निर्णय गरेको हो ।
बैठकले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल, उद्योग वाणिज्य संघ, व्यापार संघ, नेपाल पत्रकार महासंघ, रेडक्रस सोसाइटी, इन्सेक, विभिन्न सामाजिक संघसंस्था, अभियानकर्मी तथा सबै सरोकारवालाको सहभागितामा राहत सामग्री संकलन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । उहाँका अनुसार राहत संकलनलाई साझा अभियानका रूपमा अघि बढाउँदै संकलित सामग्रीलाई एकद्वार प्रणालीमार्फत प्रभावित क्षेत्रमा पठाइनेछ । यसबाट राहत वितरणमा हुने सम्भावित असमानता तथा दोहोरोपन हटाउँदै आवश्यकताका आधारमा सामग्री उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ ।

राहत संकलन अभियानको संयोजन नेपाल रेड्क्रस सोसाइटी पाल्पा शाखाले गर्नेछ । त्यस्तैको सदस्यको रुपमा पाल्पा उद्योग बाणिज्य संघ, पाल्पा ब्यापार संघ, नेपाल पत्रकार महासंघ र संचारकर्मी नारायण न्यौपाने रहनुभएको छ । भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, कम्बल, भाँडाकुँडा तथा अन्य अत्यावश्यक जिन्सी सामग्री सहयोग गर्न पाल्पावासीलाई आह्वान गरिएको छ ।

समाचार यज्ञमूर्ति तिमिल्सिना बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend