भदौ २० ।
पाल्पा, नेपाल प्रेस युनियन,पाल्पा शाखाको पद हस्तान्तरण एवं प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शाखाको १० औं अधिवेशन बाट निर्वाचित पदाधिकारीलाई शनिबार तानसेनमा कार्यक्रम गरी पद हस्तान्तरण संगै प्रमाणपत्र प्रदान गरिएको हो ।
नेपाल प्रेस युनियन पाल्पाका निर्वतमान अध्यक्ष मन गहिरेको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री विर बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको हो । निर्वाचित पदाधिकारी, केन्द्रिय प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरुलाई प्रमुख अतिथी रानाले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । प्रमुख अतिथी रानाले पत्रकारिता समाज र राष्ट्रलाई मार्ग निर्देश गर्ने माध्यम रहेको बताउनुभयो । मुलुक अहिले विषम परिस्थितिमा रहेको बताउँदै युनियनकर्मीहरुलाई पत्रकारिताको सिद्धान्तको पूर्ण पालना गर्दै अघि बढ्न आग्रह गर्नु भयो । उहाले विचार र आस्था जे भएपनि सत्य र तथ्यमा रहेर कलम चलाउँदै पत्रकारिता जगतको शिर उच्च बनाउनका लागि लागि पर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरु कुनै आग्रह र पूर्वाग्रह नराखि पत्रकारिता जगतको शिर उच्च बनाउने गरी अघि बढ्नु होला ।’ नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले युनियन भित्रको एकतालाई थप मजबुत बनाएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले विधान संवत् ढंग बाट संगठनलाई सक्रिय रुपमा अघि बढ्न समेत निर्देशन दिनुभयो । निर्वाचन संयोजक एवं डिएलए पाल्पाका अध्यक्ष शिव देवकोटाले सर्वसम्मत रुपमा समिति गठन गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।
नेपाल प्रेस युनियन पाल्पाका संस्थापक अध्यक्ष झपेन्द्र गहिरेले सबैलाई समेटर युनियनलाई मजबुत बनाई अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रम निवर्तमान अध्यक्ष मन गहिरेले नवनिर्वाचित अध्यक्ष दुर्गेश मल्ललाई माइन्युट हस्तान्तरण गरी पद हस्तान्तरण गर्नुभएको थियो । निवर्तमान गहिरेले निवर्तमान पदाधिकारीहरलाई सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरु प्रति आभार व्यक्त गर्नु भएको । उहाँले संगठनको वर्तमान अवस्था र चुनौतिको बारेमा जानकारी दिदै आवश्यक परेको समयमा साथ र सहयोगका लागि सदा तयार रहेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष मल्लले पत्रकारको हकहित संगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पेशागत दक्षता अभिवृद्धिका लागि प्रतिवद्ध भएर अघि बढ्ने बताउनुभयो । साथै उहाँले अग्रजहरुको सुझाव तथा सल्लाह, सहकर्मीहरुको साथलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
पाल्पा शाखाका उपसभापति दान बहादुर हिस्कीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दुर्गा प्रसाद अर्यालले गर्नु भएको हो । शाखाको १० औं अधिवेशनले मल्लको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो ।समितिको उपाध्यक्षमा विष्णु प्रसाद खनाल, महिला उपाध्यक्षमा मीना कुमाल सिलवाल, सचिवमा दुर्गा प्रसाद अर्याल, सह–सचिवमा सन्तोष सुनार, कोषाध्यक्षमा इमान सिं राना, सदस्यहरूमा प्रेरणा नेपाल, किसन पोखरेल र सुमन कार्की रहनुु भएको छ । केन्द्रीय प्रतिनिधिमा मन गहिरे, जगदीश भट्टराई, भरत शर्मा, प्रकाश खनाल, मुक्ति प्रसाद न्यौपाने, सीता डोटेल र दिपक भट्टराई रहेको छ । प्रदेश प्रतिनिधिमा रामचन्द्र रायमाझी, सीता पाण्डेय, दानबहादुर हिस्की, सुनिल कार्की, रामचन्द्र ढुंगाना र अनिल लिगल चयन हुनु भएको छ ।







© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend