असोज २ ।
पाल्पा, इस्लामिक सक्रिय युवा समाज रामपुर, पाल्पाले नुवाकोट पुगेर भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरुलाई राहत सहयोग गरेको छ। नुवाकोटको विदुर नगरपालिका वडा नं. १, ४ र १० का १०० घर बाढी प्रभावित परिवारलाई समाजले टिनका ठूला बाकससँगै नगद रकम सहयोग गरेको हो ।
बाढीका कारण घरबार बिहिन परिवारलाई लत्ताकपडा तथा अन्य आवश्यक सामग्री सुरक्षित राख्नमा भएको समस्यालाई मध्यनजर गर्दै टिनका बाकस उपलब्ध गराइएको समाजका अध्यक्ष हाम्जा खानले बताउनुभयो । बाढीपीडित परिवारसँग सामान सुरक्षित रूपमा राख्ने र चाबी लगाउने ठाउँको अभाव रहेकाले टिनका बाकस सहयोग गरिएको उहाँका अनुसार विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो ।
मानवीय सेवाको भावनासहित स्थानिय बाट संकलन गरिएको सहयोग रकमबाट बाढीपीडित परिवारलाई सहयोग गरिएको समाजका सचिव क्याम खानले जानकारी दिनुभयो । यसैगरी, समाजले बाढी प्रभावित क्षेत्रका दुईवटा मस्जिदलाई समेत सहयोग गरेको छ। मस्जिदमा नमाज पढ्न आवश्यक मुसल्ला, तन्ना, फर्म तथा नगद रकम उपलब्ध गराइएको जनाएको छ। क्लवका पदाधिकारी सहित १७ जनाको टोली नुवाकोट पुगेर सहयोग हस्तान्तरण गरेको हो । क्लवले मुलुकमा परेको विपद्को समयमा निरन्तर रुपमा सहयोग गर्दै आएको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend