असोज ५ ।
पाल्पा, निस्दी आधारभूत अस्पतालको नवनिर्मित भवन सोमबार हस्तान्तरण संगै समुद्घाटन भएको छ । निस्दी-४, मित्यालमा निर्माण भएको १५ शय्या अस्पताल निर्माण व्यवसायीले गाउँपालिकालाई हस्तान्तरण गरे पश्चात उद्घाटन गरिएको हो ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको हो । भवनको उद्घाटन गर्नुहुँदै मन्त्री पुनले दुर्गम क्षेत्रमा चिकित्सक टिकाइराख्नु महत्वपूर्ण चुनौती रहेको बताउनुभयो । प्रदेश सरकारले चिकित्सक पठाए पनि उनीहरूलाई गाउँमै टिकाइराख्न स्थानीय तहले थप प्रोत्साहन भत्ता र विशेष सुविधा उपलब्ध गराउनुपर्ने मन्त्री पुनले बताउनुभयो । स्वास्थ्य मन्त्रीको हैसियतले अस्पताललाई आवश्यक सहयोग गर्नुपर्ने दायित्व रहेको भन्दै उहाँले भर्खरै छात्रवृत्तिका स्वास्थ्यकर्मी आएकाले एक जना चिकित्सक र एक जना स्टाफ नर्स मित्यालमा पठाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“भवनले मान्छेलाई उपचार गर्ने होइन, मान्छेले मान्छेलाई उपचार गर्ने हो।” मन्त्री पुनले भन्नुभयो, “भर्खरै छात्रवृत्तिका डाक्टरहरू आएका छन्। एक जना डाक्टर र एक जना स्टाफ नर्स पठाउने कोसिस गर्छु।” तर चिकित्सक र नर्स पठाएर मात्रै स्वास्थ्य सेवा प्रभावकारी नहुने भन्दै उहाँले उपचारका लागि आवश्यक औजार तथा उपकरणको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । स्वास्थ्य सेवा सुधारका लागि संघ, प्रदेश र स्थानीय तहका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्री पुनले बताउनुभयो। राज्यका सबै निकाय एउटै लयमा अघि बढे मात्रै नागरिकले गुणस्तरीय सेवा पाउने उहाँको भनाइ थियो। “राज्यले गरेका निकायहरू एउटै लयमा बग्नुपर्छ।” उहाँले भन्नुभयो।
सीमित बजेट तथा प्राकृतिक प्रकोपबाट सिर्जित आर्थिक चुनौतीका बीच पनि स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनुपर्नेमा मन्त्री पुनले जोड दिनुभयो।
खानेपानी र स्वास्थ्य सेवाको तुलना गर्दै उहाँले स्वास्थ्य सेवा नागरिकसम्म सहज रूपमा पुर्याउने विषयमा राज्यका सबै तह जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
“खानेपानीमा अलिकति गाग्रामा बोकेर खान सकिन्छ, स्वास्थ्य चाहिँ गाग्रामा बोकेर गर्न सकिँदैन। त्यसकारण यसमा सिन्सियरली जिम्मेवारीपूर्वक हेर्नुपर्छ।” मन्त्री पुनले आवश्यक उपकरण र जनशक्ति उपलब्ध गराउँदै मित्याल क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोगको दर वृद्धि भईरहेको स्मरण गराउँदै उपचार संगै जनचेतनामा पनि ध्यान दिने समय आएको बताउनुभयो । “अस्पतालमा आउने विरामीलाई गुणस्तरीय सेवा दिनु हाम्रो कर्तव्य हो । त्यो भन्दा पनि बढी हामीले रोग लाग्नै नदिनका लागि सचेतनाको कार्यक्रम गर्नु आवश्यक छ ।” उहाँले भन्नुभयो । पछिल्लो समय पुराना दलहरुले ३५ वर्ष सम्म केही गरेन भन्ने भाष्य सृजना भैरहेको भन्दै विगत १० वर्ष अघिको निस्दी र आजको निस्दीलाई तुलना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जुन गतिमा हुनु पर्थ्यो भएन होला तर विकास विगतमा भन्दा धेरै भएको छ ।” 
निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले गाउँपालिकाले स्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि स्वास्थ्य संस्थाको स्तरोन्नतिमा लगानी गर्दै आएको बताउनुभयो । जनताको सहजताको लागि गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य चौकी मात्र नभै आवश्यक स्थानमा स्वास्थ्य ईकाईहरु पनि स्थापना गरेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले प्रसुती सेवाको लागि पनि रामपुर, तानसेन लगाएतका स्थानमा जानू पर्ने अवस्था रहेको स्मरण गराउँदै यथाशिघ्र अस्पतालमा पूर्ण सेवा सञ्चालन आवश्यक रहेको बताउनुभयो । नागरिकको स्वास्थ्य महत्वपूर्ण रहेको बताउँदै गाउँपालिका प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शालिकराम पाण्डेले अस्पतालको दिगो सञ्चालनको लागि स्थानिय स्तर बाटै जनशक्ति तयार गर्न तर्फ स्थानीय तह अग्रसर हुनु आवश्यक रहेको बताउनुभयो । नेपाली कम्युनिष्ट पाटी (नेकपा) पाल्पाका अध्यक्ष नेत्र पाण्डेले भवन निर्माण भएपनि अस्पताल सञ्चालनका लागि उपकरण र जनशक्ति महत्वपूर्ण हुने बताउनुभयो ।
नेकपा एमाले निस्दीका अध्यक्ष राम बहादुर पाटाले उपचारको लागि टाढा जानू पर्ने अवस्था रहेकोमा अस्पतालले पूर्णता पाएको दिन मात्र जनताले राहतको महशुस गर्ने बताउनुभयो । निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले भवन निर्माण संगै चिकित्सक र उपकरणको लागि पहल गर्न अनुरोध गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले अस्पतालको भवन बाट तत्कालको लागि मित्याल स्वास्थ्य चौकीको सेवा शुभारम्भ गरेको बताउनुभयो । निर्माण सम्पन्न संगै अस्पताल सञ्चालनको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन पेश गर्ने तयारी भैरहेको बताउनुभयो ।
गाउँपालिकाका इन्जिनियर सञ्जय खनालले रविना/ प्रकृति जेभी रुपन्देहीले २०७८ जेठ १३ गते १६ करोड ९३ लाख २४ हजार ६२८ रुपैयाँमा निर्माण सम्झौता गरी चार पटकको म्याद थप पश्चात गत असार २१ गते सम्पन्न गरेको जानकारी दिनुभयो । भौगोलिक जटिलता र भवन निर्माणको क्रममा पहिरो नियन्त्रणको लागि आवश्यक पर्खाल निर्माण गर्नु पर्ने भएकाले भेरिएसन पश्चात १८ करोड २५ लाख ३६ हजार ३९ रुपैयाँ कायम भएको थियो ।
कार्यक्रम निर्माण व्यवसायी टोप बहादुर रायमाझिले निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई साँचो हस्तान्तरण गरे पश्चात् सुरु भएको थियो । गाउँपालिकाले निर्माण व्यवसायी र प्राविधिकलाई समेत सम्मान गरेको छ । निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले गर्नु भएको हो ।


© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend