असोज ७ ।
पाल्पा, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एवं प्रतिनिधि सभा सदस्य सन्दीप रानाले पार्टीको अधिवेशनलाई पदपूर्तिको औपचारिक प्रक्रिया मात्र नभई संगठन, समाज र राष्ट्रलाई नयाँ ऊर्जाका साथ अघि बढाउने संकल्पको रूपमा लिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत रामपुर नगरपालिकाको नगर अधिवेशनलाई सम्बोधन गर्दै रानाले पदपूर्तिको औपचारिक प्रक्रिया मात्र नभई नयाँ नेतृत्व चयन गर्दा पदभन्दा दायित्व र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले अधिवेशनबाट निर्वाचित हुने नेतृत्वले नगरको विकास, नागरिकको उन्नति तथा पार्टीको संगठन सुदृढीकरणका लागि स्पष्ट नीति र योजनासहित अघि बढ्नुपर्ने बताउनुभयो । रानाले कांग्रेसले आफ्नो स्थापनाकाले देखि मुलुकका विभिन्न राजनीतिक परिवर्तनमा भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीले थप जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो । वर्तमान अवस्थामा राजनीतिक चुनौतीसँगै प्राकृतिक विपद्को सामना गर्नुपर्ने अवस्था रहेकाले संगठनलाई वडा तहदेखि केन्द्रसम्म नयाँ नेतृत्व र ऊर्जाका साथ अघि बढाउनु आवश्यक रहेको बताउनुभयो ।
भोटेकोसी बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सांसद रानाले विपद्मा बेपत्ता भएकाहरू सकुशल फर्किन र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । नगर अधिवेशनमा नयाँ कमिटीका लागि आकांक्षा प्रस्तुत गर्नु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा भए पनि आफूले मात्र पद पाउनुपर्छ भन्नेभन्दा सबैलाई समेटेर आफूले न्याय गर्न सक्ने जिम्मेवारी ग्रहण गर्न रानाले आग्रह गर्नुभयो । “पद होइन, दायित्व हो भनेर सम्झेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “आफूले न्याय गर्न सक्ने दायित्व ग्रहण गरेर संगठनलाई अघि बढाउनुपर्छ।”
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु माया ढकालले कांग्रेसले निर्वाचन प्रक्रियामा संख्यामा हारे पनि कांग्रेसको नेतृत्वमा स्थापना भएको विधि र पद्धतिमा सधैं जित निकाल्दै आएको बताउनुभयो । उहाँले सबैको जित हुने गरी नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रकृतिक विपद्ले देश दुखेको छ । पार्टी घाईते भएको अवस्था छ । त्यसैले सर्वसम्मत रुपमा चयन गर्न आग्रह गर्दछु ।” कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर गाहाले सुझबुझका साथ नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले पद नभै काम ठूलो भएको बताउँदै संगठनमा सक्रियता खाँचो रहेको बताउनुभयो । मनहरु जोडेर जनताको पिर मर्कालाई बुझेर अघि बढ्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराईले राजनैतिक प्रतिवेदन, कोषाध्यक्ष मोहन भट्टराईले आर्थिक प्रतिवेदन र सचिव ओम प्रकाश बस्यालले साँगठनिक प्रतिवेदन पेश गर्नु भएको थियो । नेपाली कांग्रेस रामपुरका उपसभापति क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले गणेशमान स्मृति प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
अधिवेशनको प्रजातन्त्र सेनानी बुद्धिराज भट्टराई संगै जेन्जी युवाहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो । नेपाली कांग्रेस रामपुरका उपसभापति क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई उपसभापति ज्ञान प्रसाद भण्डारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव चिरञ्जीवि सिग्देलले गर्नु भएको हो ।
नेपाली कांग्रेस रामपुरको नगर सभापति पदका लागि पाँच जनाको उम्मेद्वारी परेको छ । सहमति जुट्न नसके पछि मतदान प्रक्रिया बाट नेतृत्व चयन गरिने भएको छ । सभापति पदमा राम प्रसाद ढकाल, अर्जुन प्रसाद रेग्मी, क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, ज्ञान प्रसाद भण्डारी र दुर्गा प्रसाद पोखरेलको उम्मेद्वारी परेको छ । निर्वाचन समितिका अनुसार बिहीबार विहान देखि मतदानको समय तोकिएको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend