असोज ८ ।
पाल्पा, नेपाली कांग्रेस रामपुर नगरपालिकाको नगर सभापतिमा राम प्रसाद ढकाल (रमेेश) निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस रामपुरको नगर अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो ।
अन्तिम मत परिणाम अनुसार ढकालले एक मतको अन्तरले निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शेषकान्त भट्टराईले जानकारी दिनुभयो । उहाँले कुल खसेको मत मध्ये १४४ मत प्राप्त गर्नु भएको थियो भने प्रतिस्पर्धी क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले १४३ मत प्राप्त गर्नु भएको छ । नगर कार्यसमितिका पदाधिकारी मध्ये सभापति, सचिव र एक जना जिल्ला सदस्य खुल्लाको लागि निर्वाचन भएको थियो । अधिवेशनले अन्य पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यसैगरी सचिव पदमा निलकण्ठ पोखरेल विजयी हुनुभएको छ । उहाँले १५० मत ल्याउनु भएको छ । उहाँको प्रतिस्पर्धा मोहन बहादुर थापाले १२९ मत ल्याउनुभएको छ । जिल्ला सदस्य खुल्ला पदमा भुपराज बस्याल १४२ मत सहित विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धि मधुसुदन पोखरेलले १२० मत प्राप्त गर्नुभएको छ । नगर उपसभापतिमा राजेन्द्र बास्तोला, महिला उपसभापतिमा कविता मल्ल र सहसचिवमा गीता क्षेत्री सर्वसम्मत रुपमा चयन हुनुभएको छ । महिला जिल्ला सदस्यतर्फ दुर्गादेवी गौतम भण्डारी यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।
३५ वर्ष मुनिको नगर सदस्यमा आशिष पोखरेल र दलित महिला नगर सदस्यमा माया देवि नेपाली निर्विरोध चयन हुनुभएको हो । अधिवेशनमा नगर भित्रका २९२ क्षेत्रिय प्रतिनिधिहरुले मतदान गरेका थिए ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend