असोज ९ ।
पाल्पा, अविरल वर्षाका कारण आएको पहिरोमा परी पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्टुङमा एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले दुई वटा घर पूर्ण रूपमा क्षति पुर्याएको छ ।
घर भन्दा माथि बनेको नयाँ मोटरबाटोबाट लेदो तथा ढुंगासहितको पहिरो झरेर दुवै घर ढल्दा रिव्दीकोट–६, गोलखानकी ५९ वर्षीया कृष्णुकुमारी सारु बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण शुक्रबार दिउँसो पहिरो खसेको थियो । पहिरोले धुस्टुङ गोलखान बस्ने केसुराम सारु मगरको ३ तले कच्ची घर र सोही स्थानका रामबहादुर उईको ३ तले कच्ची घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । माथिल्लो मोटरबाटोबाट लेदो तथा ढुंगासहितको पहिरो झरेर दुवै घर ढलेका हुन् ।
रामबहादुर उईको परिवारका ४ जना सकुशल रहेको र केशुराम सारु मगरको परिवारका ४ जनामध्ये उहाँ श्रीमती वर्ष ५९ की कृष्णकुमारी सारु घरमा आएको पहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । पानी निरन्तर परिरहेका कारण घटनास्थलमा उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घर भएको स्थानभन्दा माथिबाट मोटरबाटोसहित ढुंगा–माटोको लेदो बगिरहेकोले तत्काल उद्धार गर्न कठिनाइ भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय तथा सम्बन्धित निकायसँग समन्वय गरी बेपत्ता महिलाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend