असोज १२ ।
पाल्पा, आइतबार कालीगण्डकी नदीमा आएको बाढीले केलादीको मोटरेबल पुलमा क्षति पुगेको छ । भिमाद-रामपुर-मित्याल-अरुणखोला सडक खण्ड अन्तर्गत पाल्पाको रामपुर नगरपालिका-३ गण्डकीढिक र स्याङ्जाको चापाकोट नगरपालिका-६ साँखर जोड्ने केलादीघाटको पुलमा नदीको बहाबले क्षति गरेको हो ।
चार दिन देखिको अविरल वर्षा संगै आएको बाढी आइतबार विहान देखि साँझ सम्म पुल भन्दा माथि बगेको थियो । पाल्पा तर्फको दुई स्पानमा असर गरेको हो । नदीको बहाबले पाल्पा तर्फको पहिलो र दोस्रो स्ल्याबको बेरिङ्ग, बेरिङ्ग स्टपर र रेलिङ्गमा क्षति पुगेको छ । प्रारम्भिक अध्ययन अनुसार पाल्पा तर्फको पहिलो स्ल्याब बाट दोस्रो जोड्ने भाग १५ सेन्टिमिटर, दोस्रो स्ल्याब बाट तेस्रो स्ल्याब भाग २२ सेन्टिमिटर पूर्व तर्फ सरेको छ भने १२ देखि १५ सेन्टिमिटर तल खस्किएको देखिएको सडक डिभिजन कार्यालय पाल्पाका सवइन्जिनियर राजन ढकालले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यले पुलमा सवारी आगमन सञ्चालन आइतबार बाटै बन्द गरिएको बताउनुभयो । पुल विज्ञहरु बाट विस्तृत अध्ययन पश्चात सञ्चालन गर्ने सकिने वा नसकिने विषयमा जानकारी प्राप्त हुने बताउनुभयो । पुलमा भएको क्षतिको विषयमा विभागमा जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।
सडक डिभिजन पाल्पाले सोमबार एक सुचना जारी गर्दै बाढीका कारण पुलमा क्षति भएकोले हाल सवारी संचालन गर्न योग्य नदेखिएको हुँदा सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ । बैकल्पिक पुलको रुपमा चापाकोट नगरपालिका ७ र रामपुर नगरपालिका ६ पाल्पा जोड्ने गौरीघाटलाई पुल प्रयोग गरी सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।
रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले नदीको बहाब अहिले सम्म कै ठूलो आएपनि पुल ठूलो क्षति हुनबाट जोगिएको बताउनुभयो । केलादी घाटको पुल २०७१ साल देखि सञ्चालनमा आएको हो । तीन वटा स्पान सहित १६६.६ मिटर लम्बाई रहेको छ ।कालीगण्डकी नदीको बहावले रामपुर नगरपालिका १० र स्याङ्जाको चापाकोट नगरपालिका जोड्ने निर्माणाधिन होस्दीको मोटरेबल पुल, रामपुर नगरपालिका-६ र चापाकोट नगरपालिका-७ जोड्ने गौरीघाटको पुललाई समेत छोएको थियो ।
बाढीले कालीगण्डकी नदीमाथि बनेको रम्भा गाउँपालिका -१ च्याङ्लिङ र स्याङ्जाको गल्याङ नगरपालिकाको बेलचौर जोड्ने झोलुङगे पुलमा पनि क्षति भएको छ । पुलको एक वटा लठ्ठा चुडेको छ । यस्तै रामपुर नगरपालिका-३ र चापाकोट नगरपालिका-६ जोड्ने केलादीघाटको मोटरेबल पुलको माथि बाट नदीको बहाव बगेको थियो । पुल माथि नदीले काठ तथा ढुङ्गा बालुवा थुपारेको छ । साथै रामपुर-६ र चापाकोट-७ जोड्ने गौरीघाटको मोटरेवलपुल, रामपुर नगरपालिका-१० होस्दी र चापाकोट नगरपालिका जोड्ने निर्माणाधिन मोटरेबल पुललाई पानीको बहावले छोएको थियो।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend