साउन २५ ।
पाल्पा, रामपुर नगरपालिका स्वास्थ्य शाखाले वार्षिक समीक्षा गरेको छ । नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल र स्वास्थ्य शाखाबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कार्यक्रमको समीक्षा गरेको हो ।
कार्यक्रममा स्वास्थ्य संस्था र शाखाले एक वर्षको अवधिमा संञ्चालन गरेका कार्यक्रम र प्रदान गरेका सेवाको समीक्षा गरेको थियो । कार्यक्रममा भौतिक अवस्था ,पोषण कार्यक्रम, गर्भवती महिलाको अवस्था र पोषण,विभिन्न औषधीको उपलब्धता र वितरण , मातृ तथा नवशिशुको स्वास्थ्य अवस्था, जेष्ठ नागरिक तथा विद्यार्थीहरुको स्वास्थ्य जाँच लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागीले भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको र आरडिटी किटको अभावका कारण विरामीको जाँचमा समस्या आएको भन्दै किटको उपलब्धता सहज बनाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले भौतिक संरचनाको विकास र परिमाणमुखी सेवा भन्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले लगनशीलताका साथ जनताको मन जित्ने गरी नगरका हरेक नागरिकलाई स्वास्थ्य सेवा दिन आग्रह गर्नुभयो । नगर प्रमुख थापाले जेष्ठ नागरिक, दीर्घ रोगीलाई घरमै गएर स्वस्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभयो । साथै नगरपालिका भित्र रहेका बर्थिङ सेन्टरलाई आवश्यकताको आधारमा कटौती गरी गुणस्तरीय सेवाका लागि सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले नागरिकको आवश्यकताका आधारमा सेवा दिन आवश्यक रहेको बताउनुभयो । साथै सेवाको गुणस्तरमा ध्यान दिनु पर्ने भन्दै जनप्रतिनिधि र सरोकारवालाको ध्यान पुग्न जरुरी रहेको उल्लेख गर्नुभयो । रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले आधारभूत स्वास्थ्य सेवामा विषेश ध्यान दिदै स्वास्थ्य सुचक पुरा गर्ने गरी काम गर्नु पर्ने बताउनुभयो ।
रामपुर नगरपालिका स्वस्थ्य शाखा अन्तर्गतका संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा २४ हजार १ सय ३५ जनालाई स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरेको छ भने २ सय २७ जनाले संस्थागत सुत्केरी सेवा लिएको स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमरेले बताउनुभयो । यस्तै मेरुदण्ड पक्षघात ४ जना, मृगौला डायलासिस २५ जना , क्यान्सर रोग ७९ जना गरी १ सय ८ जनालाई मासिक ५ हजार रुपैयाँ नियमित औषधी उपचार खर्च उपलब्ध गराएको छ भने ३ हजार ९ सय ९५ जनाको नसर्ने रोगको स्क्रिनिङ सेवा, विभिन्न विद्यालयमा १ हजार १ सय ८८ जना विद्यार्थीहरुको रक्त अल्पता परिक्षण र ४ सय ९९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा प्रदान गरेको घिमरेले जानकारी दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलको अध्यक्षतामा भएको समीक्षा कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन नर्सिङ अधिकृत पुनम धितालले गर्नु भएको थियो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्थाका प्रमुख,रामपुर अस्पताल र स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend