भदौ १ ।
पाल्पा, रामपुर आधारभूत विद्यालय रामपुर-५ पाल्पाका विद्यार्थीहरुले नागको चित्र बनाएर बिक्री गरेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नागपञ्चमीको अवसरमा आफैले चित्र कोरेर विक्री गरेका हुन् ।
सोमबार परेको नागपञ्चमी पर्वलाई मध्यनजर गर्दै तयार पारिएको एक हजार सात सय बढी अष्टनागको चित्र विद्यार्थीहरु आफै खटिएर विक्री गरेको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरुले शुक्रबारे कार्यक्रम अन्तर्गत गत शुक्रबार चित्र तयार पारेका थिए । विद्यालयमा तयार गरिएको चित्र विद्यालय समय पश्चात छिमेकी, आफन्त र विद्यालय नजिकका टोलहरुमा पुगेर विक्री गरिएको कक्षा ८ मा अध्ययनरत विद्यार्थी प्रयास अधिकारीले बताउनुभयो । शुक्रबार तयार गरिएको चित्रले नपुगे पछि विद्यार्थीहरुले कोरेको राम्रो स्केचलाई विद्यालयले फोटोकपी गरेर गरी विद्यार्थीलाई दिएको थियो । विद्यार्थीहरुले शनिबार, आइतबार र सोमबार विहान सम्म नागको चित्र विक्री गरेको विद्यालयका प्रधानाध्यापक विजय शर्मा अर्यालले जानकारी दिनुभयो । नागपञ्चमीको लागि हातले चित्र बनाएर भित्तामा टास्ने परम्परा भए पनि पछिल्लो समय हराउँदै गएको र बाहिर बाट आयात हुने छापिएर आएका चित्रको प्रयोग बढ्दै भएको सन्दर्भमा विद्यार्थीहरुलाई परम्परागत शैलीको बारेमा जानकारी दिन चित्र बनाउन लगाएको बताउनुभयो ।
कार्यक्रमले विद्यार्थीहरुको सृजना प्रस्फुटन संगै विक्री कसरी गर्ने भन्ने विषयमा समेत अनुभव हासिल गर्ने अवसर प्राप्त गरेको बताउनुभयो । विद्यालयले पर्वहरुमा आयातित सामग्री भन्दा स्थानीय स्तरमा उपलब्ध सामग्रीको प्रयोग गर्न गर्न आकर्षित गर्दै आएको छ ।
विद्यार्थीहरुले सात सय चित्र १० रुपियाँँको दरले चित्रहरु विक्री गरेर विद्यालयको बाल क्लबमा जम्मा गरेका छन् । चित्र विक्री बाट ४ हजार ३२० रुपैयाँ जम्मा भएको कक्षा ८ का छात्रा समृद्धि भट्टराईले बताउनुभयो । संकलन भएको रकम बालक्लव मार्फत खर्च गरिने जानकारी दिनुभयो ।
विद्यालयले कागज उपलब्ध गराएर गत वर्ष देखि आफ्नो चित्र विक्री गर्दै आएको छ । तयार गरिएको चित्र विद्यार्थीहरूलाई आ-आफ्नो घरमा टास्न तथा जेष्ठ नागरिक स्कुलका जेष्ठ नागरिकहरुलाई निःशुल्क वितरण गरिएको र बजार क्षेत्रमा न्यून्तम १० रुपैयाँको दरले विक्री गरिएको कक्षा ७ का सुविन भण्डारीले बताउनुभयो । विद्यालयमा अहिले २ सय ९ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुले रामपुर नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, शिक्षा शाखा प्रमुख संगै वडा कार्यालयका जनप्रतिनिधिहरुलाई पनि चित्र हस्तान्तरण गरेका थिए । नगरपालिका, वडा कार्यालय, रामपुर अस्पताल, रामपुर आयुर्वेद अस्पतालमा पुगेर नागको चित्र टाँसेका छन् ।



© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend