मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३

प्रेस युनियन पाल्पा शाखा द्वारा ‘श्रमजीवी’ बुलेटिन सार्वजनिक



असोज २५ ।
पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले ‘श्रमजीवी’ बुलेटिन सार्वजनिक गरेको छ। शाखाले २०८३ सालको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान सहित बुलेटिन सार्वजनिक गरेको हो ।



नेपाल प्रेस युनियन पाल्पा शाखाका अध्यक्ष दुर्गेश मल्लको अध्यक्षता भएको कार्यक्रम नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालको प्रमुख आतिथ्यतामा भएको हो । अर्यालले पत्रकारिता लोकतन्त्रको सुदृढीकरण, नागरिक अधिकारको संरक्षण र समाजमा सुशासन कायम गर्न महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले पत्रकारले सत्य, तथ्य र निष्पक्षतामा आधारित समाचार सम्प्रेषण गर्दै जनताको आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । श्रमजीवी पत्रकारका पेसागत समस्या, श्रमको उचित सम्मान, न्यूनतम पारिश्रमिक र पेसागत सुरक्षाका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउँदै ‘श्रमजीवी’ बुलेटिनले पत्रकारका सवाल र प्रेस युनियनका गतिविधिलाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले स्वतन्त्र र जिम्मेवार पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको बताउनुभयो । उहाँले समाजमा भएका सकारात्मक कामको प्रचारसँगै विकृति, विसङ्गति र अनियमितता विरुद्ध खबरदारी गर्नु पत्रकारिताको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रले जनताको विश्वास कायम राख्दै सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताउँदै पत्रकारका हकहितको संरक्षण, पेसागत मर्यादाको प्रवर्द्धन र सञ्चार क्षेत्रको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । साथै, ‘श्रमजीवी’ बुलेटिनको प्रकाशनले पत्रकारिता क्षेत्रका गतिविधि र श्रमजीवी पत्रकारका मुद्दालाई थप प्रभावकारी रूपमा सार्वजनिक गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, नेपाल प्रेस युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गैरे, अक्षयकोषदाता सागर महर्जन, सुरेश कर्माचार्य लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले चाडपर्वले आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई शुभकामना दिएका थिए ।

नेपाल प्रेस युनियन पाल्पा शाखाका उपसभापति विष्णु खनालले स्वागत गर्नुभएको कार्यक्रम सचिव दुर्गा प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा शाखाले तयार पारेको ‘श्रमजीवी’ बुलेटिन सार्वजनिक गरिएको थियो। बुलेटिनले पत्रकारिता क्षेत्रका गतिविधि, श्रमजीवी पत्रकारका सवाल तथा युनियनका गतिविधिलाई पाठकमाझ पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend