असोज २५ ।
पाल्पा, हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा रामपुर युवा क्लबले दुर्गा भवानीको पण्डाल स्थापना गरी पूजा–आराधनासहित धार्मिक कार्यक्रम सुरु गरेको छ । रामपुर नगरपालिका–५, बेझाँड बजार चोकमा दुर्गा भवानीको मूर्ति सहितको पण्डाल निर्माण गरी आइतबारदेखि कार्यक्रम सुरु गरिएको हो ।
नेपाली मौलिक कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ। रामपुर युवा क्लबका अध्यक्ष छम बहादुर दरैको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नेपाली मौलिक कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा आपसी सद्भाव र एकता कायम गर्न सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा उहाँले कार्यक्रमका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग समेत गर्नुभएको थियो ।
त्यसैगरी, रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि युवाहरूले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
क्लबका अध्यक्ष छम बहादुर दरैले दुर्गा भवानीको पूजा–आराधना, भजन–कीर्तन तथा विभिन्न धार्मिक गतिविधिमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। क्लवले केही वर्ष अघि हरेक वर्ष बेझाँड चोकमा धार्मिक अनुस्थान सञ्चालन गर्दै आएपनि क्लवका पदाधिकारीहरु अध्ययन र कामको शिलशिलामा बाहिर हुँदा रोकिए पनि यस वर्ष बाट पुन सुरु गरिएको जानकारी दिनुभयो । बेझाँड बजारमा घटस्थापना देखि नवरात्र भर दैनिक पुजापाठ सहित भजनकृतन हुनेछ ।उहाँले कार्यक्रममा सहभागी भक्तजन तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।
क्लबका अनुसार पण्डालमा दैनिक बिहान ६ बजेदेखि पूजा–आराधना गरिनेछ भने साँझ ७ बजेदेखि राति ९ बजेसम्म भजन–कीर्तन सञ्चालन हुनेछ। यसले भक्तजनलाई सामूहिक रूपमा पूजा–आराधना गर्ने अवसर प्रदान गर्नुका साथै धार्मिक आस्था र सांस्कृतिक परम्परालाई जीवन्त राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय भक्तजनको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन बन्दना पोखरेलले गर्नुभएको थियो।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend