भदौ ११ ।
पाल्पा, पाल्पाको रामपुर नगरपालिकाले बाढी पिडितका लागि राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको छ । भाद्र १० गते बुधवार विहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पिडित परिवारका लागि राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको हो ।
नगरपालिकाले प्रत्येक वर्ष गर्दै आएको उपप्रमुख तिज विशेष कार्यक्रम स्थगित गरी उक्त कार्यक्रमका लागि विनियोजन गरेको बजेट बाढी पिडितलाई सहयोग गर्ने भएको छ । नगरपालिकाका महिला जनप्रतिनिधि र कर्मचारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाले तिजगित प्रतियोगिताका लागि विनियोजन गरेको २ लाख ५० हजार रुपैयाँ रकम सहयोग गर्ने निर्णय गरेको रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले जानकारी दिनुभयो । विपद्को समयमा पिडित परिवारलाई केही राहत होस भन्ने उद्देश्यले कार्यक्रम नै स्थगन गरी सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
देश नै शोकमा डुबेको समयमा प्रतियोगितात्मक कार्यक्रम भन्दा पिडित परिवारलाई राहत पुर्याउनु तीन तहका सरकार र सबैको जिम्मेवारी भएको उपप्रमुख थापाले बताउनु भएको छ । बाढी पिडितका लागि पालिकाको तर्फबाट छलफल गरेर थप सहयोग गर्ने उपप्रमुख थापाले बताउनुभयो ।
अप्रत्यासित रुपमा नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित वेपत्ता भएकाहरुको खोजी कार्यमा सहयोग गर्न आग्रह समेत गर्नु भएको छ । साथै विपदको समयमा चाडपर्वका नाममा विभिन्न कार्यक्रम गर्नु भन्दा सबै एक भएर क्षमता अनुसारको राहत सहयोग गर्न अनुरोध गर्नु भएको छ । उहाँले नगरपालिकाभित्रका नगरबासीहरु पनि सो क्षेत्रमा काम र भ्रमण तथा यात्राको क्रममा रहेको र उनिहरुको सम्पर्क र खोजविन भई रहेको जानकारी दिनुभयो ।
उपप्रमुख थापाले सो क्षेत्रमा गएका नगरबासीहरु कोही सम्पर्कमा नभए सम्बन्धित वडाको वडा अध्यक्षलाई जानकारी गराई खोजविन तथा विवरण संकलनमा सहयोग गर्न आग्रह समेत गर्नु भएको छ । महिला लक्षित कार्यक्रम अन्तर्गतको उपप्रमुख तीज विशेष कार्यक्रमको बजेट मार्फत गरिने सहयोग प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा दाखिला गरिने महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा शाखा प्रमुख पुजा परियारले जानकारी दिनुभयो ।