भदौ १२ ।
पाल्पा, पाल्पाको निस्दी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन कोषबाट एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले शुक्रबार प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
साथै बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा थप सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले जनप्रतिनिधिहरूको मासिक सेवा सुविधाको १० प्रतिशत रकम समेत योगदान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । यस्तै, कर्मचारी तथा शिक्षकहरूबाट पनि तहअनुसार निश्चित दिन बराबरको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाका अनुसार श्रेणीविहीन वा कार्यालय सहयोगीस्तरका कर्मचारी तथा सो सरहका शिक्षकबाट मासिक सुरु तलब स्केलको २ दिन, सहायकस्तरका कर्मचारी तथा सो सरहका शिक्षकबाट ३ दिन र अधिकृतस्तरका कर्मचारी तथा सो सरहका शिक्षकबाट ७ दिन बराबरको तलब/पारिश्रमिक सहयोग गर्ने गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी दिनुभयो ।
गाउँपालिकाले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend