शनिबार, भाद्र १३ २०८३

शनिबार, भाद्र १३ २०८३

बगनासकालीले २ लाख ५० हजार संगै जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिक बाट सहयोग गर्ने



भदौ ११ ।
पाल्पा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि बगनासकाली गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको छ । विपद् व्यवस्थापन कोषबाट २ लाख ५० हजार सहित जनप्रतिनिधिको मासिक सेवा सुविधा बाट १० प्रतिशत र कर्मचारीहरु बाट पाँच दिन बराबरको पारिश्रमिक रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको भदौ ११ गते विहिबारको निर्णयअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट २ लाख ५० हजार रुपैयाँ, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको मासिक सेवा सुविधाको १० प्रतिशत रकम सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले जानकारी दिनुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार कर्मचारीहरूको पाँच दिन बराबरको पारिश्रमिक रकमसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
यसैगरी, विपद्का कारण घाइते भएकाहरूको उपचारमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले रक्तदान कार्यक्रमसमेत आयोजना गर्ने भएको छ। भदौ १५ गते सोमबार बिहान ८ बजे गाउँपालिकाको कार्यालय, चिर्तुङधारा, पाल्पामा रक्तदान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैमा आग्रह गरेको छ। भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको छ र खोज तथा उद्धार कार्य जारी रहेको छ।
भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत विभिन्न स्थानमा ठूलो जनधनको क्षति तथा मानवीय पीडा भएको भन्दै गाउँपालिकाले दुःख व्यक्त गरेको छ। गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग तथा ऐक्यबद्धता जनाउन देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई समेत अनुरोध गरेको छ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend